गोरखामा कोभिड–१९ को खोप अभाव भएको छ । दोस्रो चरण अन्तर्गत फागुन २३ गतेबाट ६५ वर्ष उमेर समूहमाथिका लागि कोभिड–१९ को खोप लगाउन अभियान जारी छ ।
गोरखामा फागुन २३ गतेदेखि २५ गतेसम्म ६ ओटा स्थानीय तह र २७ गतेदेखि २९ गतेसम्म पाँच ओडा स्थानीय तहमा खोप लगाउने निर्णय भएको थियो ।
दोस्रो चरणको पहिलो अभियान अन्तर्गत २३ गतेदेखि २५ गतेसम्मको अभियान चलेको ६ ओटा स्थानीय तहमा खोप अभाव भएको हो ।
फागुन २५ गते गोरखा अस्पतालमा खोप लगाउन आएका गोरखा नगरपालिका–६ का बाबुराम श्रेष्ठले खोप नलगाइ फर्किनु परेको बताउनु भयो ।
अभियान अन्तर्गत २३ गतेदेखि २५ गतेसम्म गोरखा र पालुङटार नगरपालिका, शहिद लखन, अजिरकोट, गण्डकी र सिरानचोक गाउँपालिकामा खोप अभाव भएको हो ।
शहिद लखन गाउपालिकाको केही खोप केन्द्रमा फागुन २५ गते अभियान रोकिएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको खोप सकिएपछि अभियान रोकिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
२ हजार ५ सय जनालाई खोप लगाउने लक्ष्य रहेपनि १ हजार ४ सय डोज मात्र आएको उहाँको भनाइ छ ।
अन्य स्थानीय तहमा पनि खोप अभावले अभियान प्रभावित बन्यो । ६ ओटा स्थानीय तहमा १० हजार ३ सय ५४ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य थियो ।
२ हजार ४ सय ५ जनालाई अझै खोप लगाउन बाँकी रहेको र करिव ७ सय डोज खोप मात्र बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजङ्ग ठकुरीले बताउनुभयो ।
१ हजार ६ सय जनालाई चाहिने खोप आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभावबारे प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयमा जानकारी गराएको उहाँले बताउनुभयो । अपुग खोप ल्याउन पहल भइरहेको पनि उहाँको भनाइ छ ।