सम्मरीमाई गाउँपालिका–५ दुबेथुमुवाकी ३२ वर्षीया कुशुम लोधको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३४ वर्षीय पति शैलेशकुमार लोध र ३० वर्षीय देवर राजेशकुमार लोधलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।
कुशुमलाई आरोपितद्वयले फागुन १५ गते लुम्बिनी, पर्सा घुम्न लैजाने भन्दै डेढ वर्षीय बालक सहित लु.६२ प १४०१ नम्बरको मोटरसाइकलमा लगेको र कोटहीमाई गाउँपालिका–१ पतिजिया सिपवास्थित झलुनीपुरदेखि मर्चवार जाने बाटोमा इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टरको नेतृत्वमा गएको गस्ती टोलीले सोधपुछको क्रममा पत्नीलाई लु.२ च.१५१७ नम्बरको गाडीले ठक्कर दिएको र पेस्तोल देखाएर पत्नीको गरगहना लुटेर लगेको बयान दिएको प्रहरीले जनायो ।
आरोपितले हत्या गर्ने योजनाका साथ लिएर गएको र मोटरसाइकल रोकी पिसाब फेर्ने बाहना बनाएर सडक छेउमा रोकेर देवरले भारतीय नम्बर प्लेटको युपी ५५ एन ८५९८ नम्बरको गाडीले ठक्कर दिएर दुई तीन पटक शरिरमा गाडी चढाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
कुशुमलाई उपचारका लागि प्रहरीको गाडीमा राखेर भीम अस्पताल भैरहवामा पुर्याएकाेमा अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको अघिल्लो दिन घरायसी झगडा भएको र महिलाको जीवन बिमा बापतकाे रकम र घरायसी विवादको कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन १६ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।