नेपालकै प्रथम महिला शहीदको शालिक र पार्कलाई व्यवस्थित गर्न इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले १ लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् ।
धनुषाको यदुकुहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ १६ गते आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

शहीद दिवसको सन्दर्भ पारी ०४६ सालको संयुक्त जनआन्दोलनको बेला शाहदत प्राप्त गरेका तीन महिला, एक बालक तथा एक पुरुष गरी पाँच जना शहीदको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
०४६ फागुन ९ गते प्रहरीको गोली लागि ६१ वर्षीया जानकीदेवी यादव, ४५ वर्षीया मुनेश्वरी देवी यादव र ३८ वर्षीया सोनावती देवी यादव, १५ वर्षीय उदय शङ्कर मण्डल र ३५ वर्षीय रामनारायण यादवले शाहदत प्राप्त गरेका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै इन्सेकका अध्यक्ष प्याकुरेलले शहीदहरूले देखाएको सपना पूर्ण रूपमा अझै पुरा भइनसकेको भन्दै उनीहरूको सपना साकार गर्नुपर्नेमा जोड दिए । उनले अधिकार प्राप्तिका लागि ज्यानको आहुति दिएका शहीदहरूको सही ढङ्गले सम्मान हुन नसकेकोमा दुःखेसो पोखे । धनुषा जिल्ला र खास गरी यदुकुहाको देन देश र प्रजातन्त्रको लागि उल्लेखनीय रहेको अध्यक्ष प्याकुरेलले बताए ।

पूर्ण सांसद शिवधारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका अध्यक्ष प्याकुरेलले पाँच जना शहीदको शालिक निर्माण गर्न र शहीदको सूचीमा नामाकरण गराउन इन्सेकले ठूलो भूमिका खेलेको स्मरण गराउँदै उक्त शालिकलाई अझै सुव्यवस्थित पार्न इन्सेकले थप १ लाख रुपियाँ सहयोग दिने घोषणा गरे । अध्यक्ष प्याकुरेलले सो रकम फागुन ७ गते प्रजातन्त्र दिवस अगावै उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा पूर्व सांसद् यादवले शहीदहरूको सपना पूरा हुन नसकेको भन्दै अझै सङ्घर्षको आवश्यकता रहेकोमा जोड दिए ।
इन्सेकको सहयोगमा बनेको सो पार्कको २०४७ सालमा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेका थिए । २०५५ सालमा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले पार्कको उद्घाट्न गरेका थिए ।