१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियार भन्ने लालकाजी दमैलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठीको फागुन १६ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत पर्वतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ मङ्सिर ७ गते गिरफ्तार गरी आरोपितविरुद्ध जबरजस्ती करणी र्शीषक अन्तरर्गत मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालत पर्वतको आदेशले आरोपित मङ्सिर १४ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।