धनकौल गाउँपालिका–५ छठियाघाटमा नेपाली कांग्रेसका कार्यकर्ता ४४ वर्षीय बिलास महतोको काठको दुईतले घरमा अपचरित व्यक्तिहरूद्वारा आगजनी गरेको आरोपमा पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिनु भएको छ ।
फागुन १२ गते राति १० बजे काठ र बाँसको टाटी भएको घरमा अपरिचित व्यक्तिहरूले डिजेल र पेट्रोल छर्केर लगाएको आगजनीले अन्नपात, लत्ताकपडा, झयाल, ढोका, इलेक्ट्रोनिक सामानलगायत छोरीको विवाहका लागि राखिएको नगद ३ लाख रुपियाँ गरी १४ लाख रुपियाँ रकम बराबरको क्षति भएको उजुरीमा उल्लेख गरिएको पीडित महतोले बताउनु भएको छ ।
इलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बलबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले स्थानीयसमेतको सहयोगमा दमकलको प्रयोग गरी आगजनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कँुवरले जानकारी दिनु भएको छ ।
पीडितको उजुरी पश्चात आशङ्काको आधारमा धनकौल गाउँपालिका–५ हरकठवाका ३४ वर्षीय रामविश्वास यादवलाई गिरफ्तार गरी अनुसन्धान थालिएको पनि डिएसपी कुँवरले बताउनु भयो ।