अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा फागुन ७ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ सय ७८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण कार्यक्रममा उच्च अदालत जनकपुरका निमित्त मुख्य न्यायाधीश बालकृष्ण उप्रेतीले मानव अधिकार वर्ष पुस्तकले समग्र मानव अधिकार अवस्थाको बारेमा अध्ययन गर्न अवसर सृजना गरेको बताउनु भयो ।

उप्रेतीले महिला तथा बालबालिका लक्षित हिंसा, यौन दुव्र्यवहारलगायतका घटनालाई न्यूनीकरण गर्न सबै क्षेत्रबाट पहल गर्नुको साथै सबै व्यक्ति, परिवार र समुदायले मानव अधिकारमैत्री व्यवहार गर्ने वातावरण सिर्जना गर्न विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
प्रदेश २ की सांसद चमेलीदेवी दासले प्रदेश सरकारको आफ्नै प्रहरी प्रशासन नभएको हुँदा कतिपय अवस्थाम न्याय सम्पादनमा ढिला हुने गरेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख बीरबहादुर बुढा मगरले इन्सेकले निरन्तर रूपमा नेपालको मानव अधिकार अभियानमा नागरिकलाई शिक्षा, राज्यलाई जबाफदेही बनाउने कार्यमा विशिष्ट योगदान गरेको बताउनु भयो ।
नेपाल बार एसोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले जबसम्म संविधान र कानुनबाट मानव अधिकारको सुनिश्चितता हुँदैन तबसम्म मानव अधिकारको कार्यान्वयनमा सफलता हासिल गर्न समस्या नै हुने बताउनु भयो ।
एडभोकेसी फोरम प्रदेश २ संयोजक राजकुमार महासेठले मानव अधिकार उल्लङ्घनका कार्य रोक्नको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले वर्ष पुस्तकले सरकारी निकायहरूलाई समेत प्रतिबद्धता स्मरण गराउन भूमिका खेलेको बताउनु भयो ।
इन्सेक प्रदेश २ संयोजक राजु पासवानले इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको उल्लेख गर्दै सन् २०२१ सम्म आइपुग्दा २९ औँ श्रृङ्खला प्रकाशन गरेको बताउनु भयो ।
उहाँले इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा प्रदेश २ मा ७ सय ७८ जना पीडित भएकोमा राज्य पक्षबाट नौ जना महिला र ५१ जना पुरुष पीडित भएको बताउनु भयो । त्यसैगरी अन्यपक्षबाट ५ सय २० जना महिला र १ सय ९८ जना पुरुष पीडित भएको अभिलेख गरिएको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रदेश २ को उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा सिरहा प्रतिनिधि दुर्गा परियारलाई पुरस्कृत गरिएको छ ।
