INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य डिपोमा चामल नपुग्दा स्थानीयलाई समस्या

साउन महिनामै पुग्नु पर्ने अनुदानको चामल अहिलेसम्म पनि खाद्य डिपोमा नपुग्दा स्थानीयहरू बजारको महङ्गो चामल खान बाध्य भएका छन् ।

तिला गाउँपालिका– ७ सुडीगाउँका झुप रावतका अनुसार खाद्य डिपोमा चामल नहुँदा बजारको महङ्गो चामल किनेर खानु परेको छ । ‘राज्यको अनुदानको चामल पाउने गरेका छैनौँ । गाउँमा सडक नपुगेकोले रारालिहि बजारबाट बोकेर लिने गरेका छौं ।’

तिला गाउँपालिका– ८ जुम्लाको खाद्य डिपो र सिंजा गाउँपालिका –१ धाँपा खाद्य डिपोमा हालसम्म चामल पुगेको छैन । तिला गाउँपालिका– ८ का वडाध्यक्ष सन्तविर रावतले डिपोमा चामल नपग्दा पुरु, जुम्लाकोट, मालापानी, सुडीलगायत दर्जन बढी गाउँबस्तीका स्थानीय प्रभावित भएको बताउनुभयो । धान बाहेक अन्य उत्पादित अन्नले वर्षभरी खान नपुग्ने भएकोले डिपोमा चामल नआउँदा स्थानीयहरू महङ्गोमा चामल किन्न बाध्य भएको उहाँको भनाई छ ।

चामल आएपनि डिपोसम्म चामल ढुवानी गर्न सवारी साधनको पहुँच नभएकोले  खर्चरबाट ढुवानी गर्नु पर्ने अवस्था छ । ढुवानी कर्ताले डिपोमा चामल नपुर्‍याएर रारालिहि बजारबाटै वितरण गर्ने र डिपोबाट चामल वितरण गर्न माग राख्दा पनि सुनुवाई नभएको वडाध्यक्ष रावतको दुःखेसो छ । ‘जुम्लाकोट डिपोको भवन द्वन्द्वकालमा भत्काइए देखि पुनर्निर्माण हुन सकेको छैन । डिपोमा चालम पुगेपनि भाडाको घरमा भण्डारण गर्नुपर्ने अवस्था छ‘ अध्यक्ष रावतले थप्नुभयो ।

जुम्लाकोट र धाँपा डिपोको ढुवानी जिम्मेवारी लिएको सुर्खेतस्थित बराल ढुवानी सेवाका सञ्चालक रमेश बरालले चामल खपत नहुने अवस्था देखेपछि फागुनको दोस्रो साता चामल पु र्‍याउने योजना बनाएको बताउनुभयो ।

तर चामल उपलव्ध गराउन पटक पटक ताकेता गर्दा पनि ठेकेदार बरालले चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख तिलक सुनारले प्रतिक्रिया दिनुभयो ।

दुई वटा डिपोमा गरी २ हजार कुइन्टल खाद्यान्नको वार्षिक कोटा रहेको छ । उक्त डिपोमा चामल उपलव्ध नहुँदा स्थानीयले बजार र जुम्लाको सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लामा आएर लिने गरेका छन् ।

सदरमुकामस्थिल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा सुर्खेतबाट १९ सय कन्टल, नेपालगज्जबाट १९ सय कुन्टल र राजापुर बर्दियाबाट १८ सय कुन्टल ५० किलो आउने वार्षिक कोटा रहेको शाखा प्रमुख सुनारले बताउनुभयो ।

अन्य

भिडियो