INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा एम्बुलेन्स नहुँदा सेवाग्राही समस्यामा

जिल्ला स्वास्थ्य सेवा कार्यालय दुई वर्षदेखि एम्बुलेन्स बिहिन भएको छ । कार्यालयको एम्बुलेन्स बिग्रिएर नेपालगञ्जको कल्लु ग्यारेजमा थन्कीएको दुई वर्ष बढी समय भएपनि मर्मत नहुँदा  स्वास्थ्य सेवा कार्यालय एम्बुलेन्स बिहिन भएको हो ।

दुई वटा टायर फेर्न र मोविल इन्जिन परिवर्तन गर्नका लागि दुई वर्ष पहिले एम्बुलेन्सलाई ग्यारेज लगिएको भएपनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेश कुमार शाहले जानकारी दिनु भयो ।

कुमारी ट्रष्टको एम्बुलेन्स बिग्रिएर थन्किएको र रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोट सदरमुकाममा एउटा पनि एम्बुलेन्स छैन । जिल्ला नै एम्बुलेन्स बिहिन हुँदापनि मर्मत गरि सञ्चालन गर्नतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद पक्ष रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनु भएको छ ।

एम्बुलेन्स नहुँदा स्थानियले स्टेचर र डोकोको साहारा लिने गरेका छन् भने जिल्ला बाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गरेर बिरामी लिनु पर्ने बाध्यता रहेको छ ।

केहीदिन अघि यात्राका क्रममा दुर्घटनामा परेर खुट्टा भाँचिदा जिल्लामा उपचार सम्भव नभएपछि निजी गाडी महङ्गो भाडा तिरेर सुर्खेतमा उपचार गराएको भेरी नगरपालिकामा कार्यरत भरत कुमार शर्माले बताउनु भयो ।

20210208 Jajarkot

अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरेपनि दुर्गुममा चलाउन मुस्किल पर्ने भएकोले प्रदेश स्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताउनु भयो । तर प्रदेश मन्त्रालयबाट हाललाई बिग्रिएको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सुनिल पुनले जानकारी दिनुभयो ।

एकातिर मन्त्रालयले नयाँ एम्बुलेन्स नदिने अर्कोतिर एम्बुलेन्स मर्मत गर्नका लागि बजेट अभावको कारण जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट एम्बुलेन्सको सेवा दिन नसकिएको डाक्टर पुनले बताउनु भयो ।

अन्य

भिडियो