मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णय अनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारी नियुक्ति बदरको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालका कारण देशैभर प्रभाव परेको छ ।

बन्द उल्लङ्घन गरेको भन्दै १५ ओटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ । माघ २२ गते बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए भने प्रहरीले पनि प्रदर्शनकारीमाथि धरपकड गरेको थियो ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट गिरफ्प्तार गरिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले अह्वान गरेको आमहड्ताल तथा प्रदर्शनको क्रममा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश १ मा आमहड्तालको कार्यक्रममा सहभागी भएको आरोपमा प्रहरीले मोरङमा ६ जना र सुनसरीमा तीन जना गरी नौ जनालाई गिरफ्तार गरेको छ । प्रदेश १ मा ६ ओटा सवारीसाधन तोडफोडका घटना भएका छन् । एउटा चिया पसल तोडफोड भएको छ ।
प्रदेश २ का विभिन्न जिल्लामा प्रर्दशनकारी र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित १३ जना घाइते भएका छन् भने ४० जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बजार बन्द गराउन जकपुरको शिवचोकमा पुगेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि भएको झडपका क्रममा नेकपा स्थायी कमिटी सदस्य मातृका यादव, पूर्वमन्त्री रामचन्द्र झा, धनुषाको शहीद नगरपालिकाका नगर प्रमुख उदय बरबरीय यादव, हंसपुर नपा–४ का ३० वर्षीय प्रदिप साह, सबैला नपा–२ सबैलाका ५२ वर्षीय कारिराम यादव, जनकपुर उपमहानगरपालिका–६ पेठियागाछीका ५१ वर्षीय उमेशकुमार साह, विदेह नपा–४ ठाडीका ३६ वर्षीय शिवकुमार गोइत, सहिद नपा–५ पचहरवाका ४४ वर्षीय सुरेश कापर घाइते भएका छन् । सर्लाही जिल्ला रामनगर नपा–१ निवासी जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी जवान ३२ वर्षीय लालबाबु राय झडपमा घाइते हुनु भएको प्रहरीले जनायो । उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
आमहड्तालका कारण काठमाडौँलगायतका बागमती प्रदेशका जिल्लाहरूमा सवारी साधन तोडफोड भएका छन् । साथै प्रहरीले प्रदर्शनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा काठमाडौँको कलङ्की लगायतका विभिन्न स्थानबाट नेकपाका स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय नेताहरू हितमान शाक्य, डा. विजय पौडेल, अमृता थामा मगर, कृष्ण केसीलगायत ६९ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
गण्डकी प्रदेशमा आम हड्तालको प्रभाव आंशिक परेको भनिएपनि तनहुँको दमौलीबाट केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलगायत १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आमहड्तालको प्रभाव आंशिक परेको छ । बिहानदेखि नै जिल्लाहरूको सदरमुकाममा अधिकांश बजार, शैक्षिक संस्था, कलकारखाना र सार्वजनिक यातायात बन्द रहे पनि सरकारी कार्यालय खुल्ला रहेका थिए ।
आमहड्तालका क्रममा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा जिल्लामा प्रचण्ड–माधव पक्षधर र प्रहरीबिच झडप भएको छ भने कञ्चनपुर जिल्लामा पत्रकारमाथि आन्दोलनकारीले हातपात तथा दुर्व्यवहार भएको छ ।