जुम्लाको सिंजा गाउँपालिकामा ६ वटा वडाको काम गर्ने एक जना मात्रै सचिव हुँदा सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
वडा नम्बर ४ मा सचिवको दरवन्दी लामो समयदेखि रिक्त रहेको र १५ पुसदेखि सवै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गर्न थालेपछि सेवाग्राहीको काम समयमा सम्पन्न नभएको स्थानीय रत्नविर बुढाले गुनासो गर्नुभयो ।
‘अहिले गाउँपालिकामा एकजना मात्र वडा सचिव छन् । सिफारिसदेखि अन्य कुनै काम गर्नु परेमा सचिव खोज्दै जानु पर्ने अवस्था छ’ बुढाले थप्नुभयो ।
यस्तै सोही गाउँपालिका– २ विष्टवाडाकी २० वर्षीया लक्ष्मीरूपा आचार्यले आफू नागरिकताको लागि सिफारिस लिन जाँदा सचिव नभेटाएर समस्या परेको सुनाउनुभयो ।
कर्मचारीको अभावमा वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाई सराई जस्ता कागजपत्र बनाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नम्बर १ का अध्यक्ष रणबहादुर रोकायाले बताउनुभयो । गाउँपालिकाका ६ वडा मध्ये अन्य ५ वडामा सचिव कार्यरत भएपनि चिसो बढेसँगै जिल्लाबाट बाहिरिएपछि सबै वडाको जिम्मेवारी दलबहादुर रोकायालाई दिइएको छ ।
वडा नम्बर १ का सचिव घरविदामा, २ का सचिव विरामी भएर उपचारमा रहेको र अन्य वडाका सचिव सेवाकालिन तालिममा गएको वडा नम्बर २ का अध्यक्ष नविन शर्माले बताउनुभयो ।
हिउँदे गाउँसभाअघि वडा तथा गाउँपालिकाका सबै योजनाहरू सम्झौता भइसकेको र चिसोमा काम केहि नभएकोले सचिव नहुँदा पनि खासै समस्या नहुने उहाँको तर्क छ ।
