चन्दननाथ नगरपालिका– ४ भारतीवाडाकी ६९ वर्षीया ज्येष्ठ नागरिक सतलदेवि रोकायको हत्या गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौरका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय खगेन्द्र सुनारलाई माघ १३ गते घरबाटै गिरफ्तार गरेको छ ।
आफ्नै घरभित्र पुस १६ गते मृत अवस्था फेला परेकी महिलाका नाक, कान, घाटी, र हातमा लगाएका गहना नदेखेपछि आफन्तले हत्या भएको आशंका गर्दै पुस १७ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी गरेका थिए ।
महिलाका आफन्तले चार तोला सुन लिएर हत्या गरेको भन्ने उजुरी दिएपछि गरिएको अनुसन्धानका क्रममा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।
लाशको पोष्टमार्टम पुस १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको डिएसपी काफ्लेले जानकारी दिनुभयो ।