इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
३७ दिनदेखिको अनशनका कारण उहाँको स्वास्थ्य कमजोर हुँदै आएको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीले जानकारी दिए ।
टोलीले अधिकारीलाई भेट गरी न्यायको लडाइँ लामो हुन सक्ने हुनाले त्यसका लागि जीवितै रहेर न्यायिक अभियानलाई अघि बढाउन सुझाएको छ ।
इन्सेक अध्यक्ष श्रेष्ठले भन्नु भयो–‘न्यायको लडाइँमा हाम्रो साथ छ । तर, त्यसका लागि आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ ।’

इन्सेकका कार्यकारी निर्देशकले छोराको हत्यारा पत्ता लगाएर कानुनी कारवाही गर्न माग गर्दै चरणबद्ध अनशन बस्दै आउनु भएकी गङ्गामाया अधिकारी गत पुस ६ गतेबाट अनशनमा बस्नु भएको जानकारी दिनु भयो ।
टोलीमा इन्सेक अध्यक्ष श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम, निर्देशक श्रीराम बजगाई र रमेशप्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
यसैबिच गङ्गामायाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै माघ १३ गते अधिकारकर्मीहरूले वीर अस्पतालको गेटमा धर्ना दिएका छन् ।
अस्पतालको आकस्मिक भवन अगाडि द्वन्द्व पीडित साझा चौतारीले अधिकारीको जीवन रक्षा गर्न माग राख्दै धर्ना दिएको हो ।
३७ दिनदेखि अनशनमा रहनु भएकी गङ्गामायाको जीवन रक्षाका लागि सरकारको पक्षबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै दबाब स्वरुप धर्ना दिएको द्वन्द्वपीडित साझा चौतारीका महासचिव देवबहादुर महर्जनले जानकारी दिनुभयो ।
गत पुस ६ गतेदेखि गङ्गामाया १२ औँ पटकको अनशनमा हुनुहुन्छ । उहाँका पति नन्दप्रसादको मृत्यु अनशनकै क्रममा २०७१ असोज ६ गते भएको थियो । तर, अहिलेसम्म नन्दप्रसादको शवको सद्गत भएको छैन ।

कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण तथा न्यायका लागि पीडितको सङ्घर्ष यात्रा
गोरखा जिल्ला फुजेल गाविस-७ घर भई रत्ननगर नपा-१३ जयमङ्गलामा आफ्नो हजुरबुबालाई भेट्न २०६१ जेठ २१ गते हिँडेका नन्दप्रसाद र गङ्गामाया अधिकारी दम्पतीका कान्छा छोरा १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले चितवन जिल्ला रत्ननगर नपा-१ बकुलहरबाट अपहरण गरी लगेकोमा चार घण्टापछि साँझ सोही स्थानमा ल्याएर निर्मम यातना दिएपछि टाउकोमा गोली हानी हत्या गरे ।