INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा अत्यावश्यक औषधि अभाव भए कारबाही गरिने

अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कारबाही गरिने  स्वास्थ्य मन्त्रालयले जनाएको राससले उल्लेख गरेको छ ।

धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि मन्त्रालयले सबै जिल्लाका १ सय ३१ ओटा अस्पतालमा १३ करोड १३ लाख रुपियाँ निकासा गरिएको मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिए ।

औषधि खरिदका लागि समयमा रकम पठाए पनि धेरै जिल्लामा बोलपत्र प्रक्रियाका कारण ढिलाइ भए पनि मन्त्रालयले सोझै खरिद गरी अभावको अन्त्य गर्न प्रत्येक जिल्लालाई ५ लाख रुपियाँदेखि १५ लाख रुपियाँसम्म पठाएको शर्माले बताए । मन्त्रालयको मौज्दात स्वीकृत कार्यक्रमबाट उक्त रकम पठाइएको उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि पत्र पठाएको हो । मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियमावली परिर्वतनलाई आधार मानेर जिल्लालाई रु पाँच लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्राचार गरिएको हो ।

सार्वजनिक खरिद (चौथो सशोधन) नियमावली २०७३ को नियम ८४ (२) (१ क) बमोजिम रु पाँच लाखसम्मको अत्यावश्यक वस्तु सोझै खरिद गर्न व्यवस्था गरिएको छ भने जिल्लाको हकमा रु ५० लाखसम्मको औषधि बोलपत्रमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको अधिकृत शर्माले बताउनुभयो ।

मन्त्रालयले अत्यावश्यक औषधि कुनैपनि हालतमा अभाव हुन नदिन कडा निर्देशन दिएको छ । अभावका स्थिति सिर्जना भए कडा कारबाही गर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार कतिपय जिल्लामा बोलपत्र नगर्ने र शीघ्र औषधि खरीद प्रक्रिया अगाडि नबढाउने प्रवृत्ति र कतिले अन्तिम चरणमा आएर बोलपत्र रद्द गर्ने करणले पनि अत्यधिक औषधि अभाव हुने गरेको छ ।

०७१ भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरेको थियो । पुस महिनामा मात्र बोलपत्र आह्वान हुने र जिल्लामा वैशाख जेठमा मात्र प्रक्रिया सुरु हुने हुँदा औषधि अभावको स्थिति रहँदै आएको छ ।

यस वर्ष असोजमै बोलपत्र आह्वान गरिएको र जिल्लामा खरिद प्रक्रिया सुरु गर्न समयमा रकम पठाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले ३८ जिल्लामा औषधि खरिद भइसकेको छ भने अन्य जिल्लामा पनि प्रक्रिया आगडि बढिसकेको छ ।

 

अन्य

भिडियो