बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बालबालिका भोकभोकै विद्यालय जाने गरेका छन् ।
कक्षा २ मा अध्यायनरत ७ वर्षीया सेविका चेपाङ घरमा खानेकुरा नभएकोले खाना नखाई विद्यालय आउँछिन् । जब विद्यालय आउँछिन् यताउता हेरिरहने उनको बानी छ ।
कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकोले धेरै जसो भोकै विद्यालय पुगेपछि खाजा बनाउने ठाउँ तिर एकटकले हेरेपछि कक्षाकोठा जाने गर्छिन् ।
भोकै भएकोले निन्याउरो अनुहारमा कक्षा बस्ने उनीहरू कतिखेर खाजा खान पाइन्छ भनेर झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।
सेविका चेपाङ मात्र होइन विद्यालयका अधिकांश चेपाङ बालबालिकाको अवस्था उस्तै छ । घरमा खानेकुरा नभएपछि बालबालिका विद्यालयले खुवाउने खाजाको लागि विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले बताउनु भयो ।
कक्षा २ मा अध्यायन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउँछिन् । उनले आजसम्म विद्यालय पोशाक लगाएको देखिएकै छैन ।
आमा बुबा बिहानै ज्याला गर्न जान्छन् । बिहान निस्कने आमा बुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनिहरूले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनिहरूको बाध्यता हो ।
कक्षा ४ मा अध्यायनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । खाना खाने त कहिले काँही बेलुका मात्र हो ।
ज्याला गरेर किनेको चप्पल समेत फटेको छ । विद्यालय आउँदा लाज हुनेभएपछि उनि बिदाको दिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।
यि दुई जना बालबालिका उक्त विद्यालयमा अध्ययनरत प्रतिनिधिमात्र हुन् । प्रजा आधारभुत विद्यालयमा अध्यायन गर्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर जाने गरेका छन् ।
साथै ७५ जना
विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक मैनालीले बताउनुभयो ।
घरमा खाने अन्न नभएका चेपाङ समुदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेका चेपाङ समुदायको गाउँ र विद्यालयमा खानेपानी समेत छैन ।
गाउँमा बसिरहेका स–साना बालबालिका र बृद्धहरू समेत एक छाक खाएर जीवन धानीरहेको अवस्था छ ।
स्थानीय सरकारलेसमेत यस किसिमको अवस्थामा रहेका चेपाङ समूदायका लागि विशेष सुरक्षा कार्यक्रम ल्याउन सकेको छैन ।
गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले गाउँको विकासका लागि आफू लागि परेको बताउनु भए पनि सो अनुसारको कुनै कार्यक्रम लागु भएको देखिँदैन । बेनिघाटरोराङ गाउँपालिका अधिकांश नागरिक चेपाङ समूदायका रहेका छन् ।