२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–१० का ४० वर्षीय पुरूषोत्तम कार्कीलाई पुस २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार ३ सय रुपियाँ कसुरदारबाट असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७६ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
आरोपित जिल्ला अदालतको ०७६ फागुन ६ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ९ गते गरिएको थियो ।