इलाम नगरपालिका–८ की १४ वर्षीया बालिका दिलासा दङ्गालको बलात्कार गरी आत्महत्या गर्न बाध्य बनाएको कसुरमा जिल्ला अदालतले इलाम नगरपालिका–८ का ४३ वर्षीय अमरप्रसाद ढुङ्गानालाई २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश हरिशचन्द्र इङ्गनामको पुस ८ गते इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारलाई बलात्कार तर्फ १८ वर्ष, हाडनाता करणीमा एक वर्ष, आत्महत्या दुरूत्साहनमा एक वर्ष गरी २० वर्ष कैद तथा हाडनातातर्फ १० हजार रुपियाँ, आत्महत्या दुरूत्साहनमा १० हजार रुपियाँ जरिबाना र मृतक परिवारलाई ६० हजार क्षतिपूर्ति तथा पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिका ०७७ जेठ १५ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
बलात्कारपछि आत्महत्या गरेको सुसाइड नोट फेला परेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई जेठ १६ गते घरबाटै गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ १६ गते गरिएको थियो ।