INSEC Online

📅 २०८३ श्रावण ६

अपहरण तथा बन्धक बनाएर बलात्कार गरेको कसुरमा जेल सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २९ गते १९ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले बालकलाई जबरजस्ती करणी गरेको कसुरमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धक गरेको कसुरमा ४ वर्ष ८ महिना कैद र ४६ हजार ६ सय ४६ रुपियाँ जरिबाना तथा थप सजायतर्फ ६ वर्ष ८ महिना कैद र ६६ हजार ६ सय ६६ रुपियाँ जरिबाना तोकेको अदालतले जनाएको छ ।

पीडितलाई आरोपितले एकमुष्ठ ५० हजार रुपियाँ क्षतिपूर्ति समेत भराई दिनु पर्ने फैसला ठहर भएको छ ।

जिल्ला अदालतका अनुसार कैदतर्फ सबैभन्दा बढी आठ वर्ष कैद सजाय भुक्तान गरेपछि सानो अपराधको कैद भोग्नु पर्दैन तर थप सजाय भने भोग्नु पर्ने हुन्छ ।

आरोपित समेत बालबालिका भएकाले दुई तिहाई कैद सजाय हुने ठहर्छ । जरिबाना र क्षतिपूर्ति भने आरोपितले तिर्नुपर्ने हुन्छ ।

पीडित बालिकालाई आरोपितले ०७५ मङसिर २५ गते अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए ।

आरोपितले गाउँघरबाटै पीडितलाई ललाइफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याएर बलात्कार गरेको पीडितले बताएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ पुस ३ गते गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७५ पुस ४ गते गिरफ्तार गरी उजुरी दर्ता गरेकोमा जिल्ला अदालतले ०७५ पुस २८ गते बालसुधार गृहमा पठाउने आदेश गरेको थियो ।

अन्य

भिडियो