सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअल रुपमा मङ्सिर २४ गते उद्घाटन गर्दै उहाँले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाको निम्ति प्रतिबद्ध रहेको बताउनुभएको हो ।
‘नागरिकको मानव अधिकारको सुनिश्चित सरकारले गर्छ । नागरिकको शान्ति, सुरक्षा र प्रगतिका लागि सरकार क्रियाशील छ ।’–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो–‘मानव अधिकारलाई सुरक्षित गर्न सरकार सदा तयार छ ।’
मुलुकको विकास र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उहाँले समाजका सबैले मानव अधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँगाउँ र जनताजनताबिच पुर्याउने अभियानमा सहयोग गर्न कार्यक्रमका सहभागीमार्फत सबैलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले घरघरमा मानव अधिकार पुर्याउने अभियान सञ्चालन गरेको बताउनु भयो ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५ औँ योजनाको नीति तथा कार्यक्रम मानव अधिकारमा आधारित विकासका दस्तावेज भएको उल्लेख गर्दै विकास, सामाजिक रुपान्तरणसँग जोडिएको जानकारी दिनुभयो ।
नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेपे्रज (Nona Deprez) ले विश्वभरी कोभिडका कारण मानव अधिकार सङ्कटमा परेको हुँदा सबैले मिलेर मानव अधिकारको रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा पाँच दिनसम्म विविध कार्यक्रम गरी महाभेला मनाउन लागिएको हो । महाभेलामा इन्सेकलगायत करिब २ सय सङ्घसंस्थाले सहभागिता जनाएका छन् ।