अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), समग्र जनउत्थान केन्द्र, सामुदायिक सेवा केन्द्र, राजविराज जेसीजलगायतको मूल समारोह समितिको आयोजनामा मङ्सिर १८ गते राजविराज नपा–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा बाल विवाह न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल विवाहका घटनाहरू न्यूनीकरण गर्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
बाल विवाह न्यूनीकरण गर्न विद्यार्थीहरू सशक्त बन्नु जरुरी रहेको बताउँदै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सबैभन्दा ठुलो जिम्मेवारी बालबालिका, परिवारका सदस्यहरू र समाजको हुने भएकाले बालविवाहको घटनाको निगरानी गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्स्पेक्टर रामसागर सिंहले बाल विवाह अन्त्यका लागि प्रहरीले समेत विभिन्न कार्यक्रम गरिरहेको बताउँदै बाल विवाह गरेको पाइएमा कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामग्रीमा समावेश गर्नुपर्ने बताउनु भयो ।
शिक्षक गिरीराज पौडेलले विद्यालय र बाल क्लवले समेत यस्ता अभियानमा सहयोग गरिरहेको बताउनु भयो ।
विद्यार्थीहरू रबीना यादव, बिक्की मेहतर, नवलकिशोर माझीले उमेर नपुगी विवाह गर्नाले स्वास्थ्यमा निक्कै ठुलो समस्या आउने भएकाले बाल विवाह अन्त्यका लागि सबैले लाग्नु पर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले गरिबी, अशिक्षा, सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग लगायतका कारणले बाल विवाह न्यूनिकरणमा समस्या आएको बताए । अहिले भागी विवाह समस्याका रुपमा अगाडि बढेको समेत सहभागीहरूको भनाइ रह्यो ।
नेपाल सरकारले सन् २०१५ मा बेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।