१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ५५ वर्षीय बाबुलाई डेढ वर्ष कैद सजायको फैसला भएको छ ।
पर्वत अदालतका न्यायधीश बलराम त्रिपाठीको इजलासले मङ्सिर १४ गते गरेको फैसलामा आरोपितलाई एक वर्ष ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ माघ ३ गते दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ ७ गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान सुरु गरेको र पर्वत जिल्ला अदालतको ०७६ माघ २९ गते २ लाख रुपियाँ धरौटीमा छुटाउने आदेश जारी गरेपनि धरौटी रकम बुझाउन नसक्दा आरोपित पर्वत जिल्ला कारागार चलान भएका थिए ।
पीडित बालिका परिवारमा समेत तत्काल पुनःस्थापना हुन नसकेपछि पर्वत इन्सेक प्रतिनिधिको पहलमा उनलाई पोखराको एक सुरक्षा घरमा पुनःस्थापित गरिएको थियो ।