२५ वर्षीया गर्भवती महिलाको गर्भपतन गराएको आरोपमा तिरहुत गाउँपालिका–५ का ४२ वर्षीय रामरुप सदालाई जिल्ला अदालतले मङ्सिर १२ गते तीन महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले आरोपितलाई तीन महिना कैद सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी आएका आरोपितले पीडितका बुबासँग झगडा गरी गर्भवती पीडितको पेटमा ०७४ फागुन ११ गते लात्तिले हिर्काएका कारण ०७४ फागुन १२ गते गर्भपतन भएको पीडितले बताउनु भयो ।
कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा स्वास्थ्य उपचार गराएकी पीडितको भ्रुणको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७४ फागुन १२ गते गरिएको थियो ।
कुटपिट गरी गर्भपतन गरेको आरोप लगाउँदै पीडितले ०७४ फागुन १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले ०७४ फागुन १२ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो ।
तत्कालिन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई ०७४ चैत ८ गते १० हजार रुपियाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।