लहान नपा–१८ की ३० वर्षीया इशरत खातुनको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया काकी सासू जहिदा खातुनलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।
घटनामा संलग्न आरोपित मृतकका काका ससुरा ५५ वर्षीया वकिल मियालाई मङ्सिर ११ गते नै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपि सरदकुमार थापा क्षेत्रीले बताउनु भयो ।
पीडित पक्षका अनुसार हत्यामा संलग्न रहेका अन्य आरोपितहरू लहान नपा–१८ का ५० वर्षीय आको भनिने अलि अकबर मिया, ४८ वर्षीय मजिद मिया, ५० वर्षीय सुकमार मिया, ३० वर्षीय अनसारुल मिया, ३५ वर्षीय अनझारुल मिया र २५ वर्षीय अनबारुल मिया फारर रहेको डिएसपी क्षेत्रीले जानकारी दिनु भयो ।
हत्या आरोपित उनीहरू विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ११ गते उजुरी दिएको थियो ।
ज्वाइँ वैदेशिक रोजगारमा रहेको र काका ससुरा, सासू, देवरहरूले पटकपटक चारित्रिक आरोप लगाएर कुटपिट गर्ने गरेको मृतकका बुवा अमिर मियाले आरोप लगाउनु भयो ।
‘मङ्सिर १० गते बेलुका ज्वाइँले विदेशबाट फोन गरी छोरीको मृत्यु भएको जानकारी गराएपछि हामी घटनास्थल पुग्दा छोरीलाई लहानस्थित रामकुमार अस्पतालमा लगेको जानकारी पायौँ । शव गृहमा छोरीको शव देख्दा शरीरमा चोटको दागहरू रहेको र छिमेकीहरूले पनि राति कुटपिटको हल्ला सुनेको बताएपछि आरोपितहरूले कुटपिट गरी हत्या गरेकाले कारवाहीका लागि प्रहरीमा उजुरी दिएका हौँ ।’–मृतकका बुवा अमिर मियाले बताउनु भयो ।
घटनाको जानकारी आउँदा विष सेवन गरेको भनिएको भएपनि घटना शङ्कास्पद भएकोले अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय लहानका डिएसपी क्षेत्रीले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मङ्सिर ११ गते पठाइएको उहाँले बताउनु भयो ।