‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले संयुक्त रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी सुरू गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा, एडभोकेसी फोरम, एमनेष्टि इन्टरनेशनल लगायतका सङ्घसंस्थाहरूको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत धनुषाधाम नगरपालिकाको धनुषाधाम बजारमा मङ्सिर १० गते बिहान र्याली प्रदर्शन गरिएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीका अधिकारकर्मीहरूले घरदेखि कार्य क्षेत्रसम्म महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नु पर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आरम्भ गर्दै मङ्सिर १० गते राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरूले हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला घर–घरबाट पाइला चाल्नु पर्ने बताएका हुन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार नवराजपुर गाउँपालिका, इन्सेक, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र र इह्रिकनलगायत सङ्घसंस्थाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल तथा महिला मानव अधिकार सञ्जालको सहकार्यमा मङ्सिर १० गते नवराजपुर गाउँपालिकाबाट लैङ्गिक हिंसा तथा कथित बोक्सीको आरोपविरुद्ध सचेतना अभिबृद्धि कार्यक्रमको सुरुवात गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले महिलामाथि हुने हिंसाहरूले समाजमा नकारात्मक असर पर्ने भएकाले सबैले महिलाहरूको सम्मान गर्नु पर्ने बताउनु भयो । अहिलेको समाजमा ‘बोक्सी’ भन्ने कोही हँुदैन र कानुनले पनि बोक्सीको आरोप लगाउनेहरूलाई कारवाही गर्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्न भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलले कानुन पालना गर्न सबैलाई आग्रह गर्नु भयो ।
