बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातूनको हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् ।
बर्दिवास नपा–१ का ३२ वर्षीय बुद्धिराज न्यौपानेको दायाँ तिघ्रामा गोली लागेको छ भने वर्दिवास नपा–५ का २८ वर्षीय श्याम कार्कीलाई चार ओटा गोली लागेको छ । घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।
त्यसैगरी पीडितका आफन्त २५ वर्षीय अफताब आलमको टाउको फुटेको छ । आलामको उपचार स्थानीय शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । आलमलाई गोलीको छर्रा समेत लागेको छ ।
घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज गर्नुक साथै गोली चलाएको जनाएको छ ।
बालिकाको शव स्थानीयले बर्दिबास नगरपालिका स्थित पुर्व–पश्चिम राजमार्ग मै राखेर अवरुद्ध गर्दै प्रदर्शन गर्ने क्रममा स्थिति नियन्त्रणमा लिन र राजमार्ग खुलाउन अश्रु ग्याँस र गोली चलाएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईँले जानकारी दिनु भयो ।
प्रहरीले १ सय राउण्ड भन्दा बढी हवाई फायर गरेको स्थानीयले बताएका छन् । हत्या गरिएकी बालिकाको शव प्रहरीले राजमार्गबाट आफ्नो नियन्त्रण लिई पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।
मङ्सिर ७ गतेदेखि हराएकी बालिकाको हत्या गरेर फालिएको अवस्थामा मङ्सिर ८ गते शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बस्तीबाटै हराएकी बालिकाको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी चापागाइँले जानकारी दिनु भयो ।
बालिका हत्या आरोपमा प्रहरीले गौशाला नपा–५ घर भई हाल बर्दिवास नपा–१४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई गिरफ्तार गरेको जनाएको छ ।
हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आगजनी समेत गरेका छन् । आगजनीबाट घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
साह यसअघि पनि हत्या आरोपमा जेल परेर छुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मृतक बालिकाका बुबा सहिद आलमले न्यायको लागि पहल गरिदिन इन्सेकलगायतका अधिकारकर्मी तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीले जानकारी दिनु भयो ।