२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ का ३६ वर्षीय ओमबहादुर पल्ली मगरलाई मङ्सिर ५ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक २० गते खुर्सानीको धुलो छर्केर बलात्कार प्रयास गरेको भन्दै पीडित परीवारले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितपक्षको उजुरीको आधारमा बलात्कार प्रयास मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
यसैगरी, १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तिलोत्तमा नपा–१३ का २२ वर्षीय प्रदिप यादव विरूद्ध मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
पीडितलाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको कसैलाई भने परिवारलाई मार्ने धम्की दिएको भएर ढिलोगरी अभिभावकको सहयोगमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो । आरोपित फरार भएको रहेको र खोजी भइरहेको खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।