युवा सङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज २९ वर्षीय सन्तोष बुढाथोकीलाई पुस १४ गते कोहलपुर नपा-१० विद्युत रोड नजिक स्नुकर हाउसमा खेल खेलिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।
धारिलो हतियारबाट घाँटीमा चोट लागेका पीडित बुढाथोकीको कोहलपुर शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनऊ पुर्याइएको युवा सङ्घ बाँकेका जिल्ला अध्यक्ष किशोर थापाले बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
युवा सङ्घ बाँकेले घटना सुनियोजित भएको बताएको छ । घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै युवा सङ्घले पुस १५ गते कोहलपुरमा दुई घण्टा चक्काजामसमेत गरेको छ ।
राससका अनुसार बाँके घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका युवा सङ्घका कार्यकर्ताले काठमाडौँको नयाँ बानेश्वरमा सरकारी गाडीमाथि तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
उनीहरूले बा२झ १३९२ नंको सरकारी गाडी जलाएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । यसैगरी बा२झ १०५५ नंको सरकारी गाडी तोडफोड गरिएको र घटनामा संलग्नहरूको खोजी भइरहेको कार्कीले बताए ।