INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो छः मन्त्री श्रेष्ठ

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सबैसँग आग्रह गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा ०७७ मङ्सिर ५ गते आयोजित कार्यक्रममा संवैधानिक रूपमा सुनिश्चित गरिएको बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाउनु भयो ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बालबालिकाका लागि दश वर्षे रणनीति बनाउने तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी संरचना निर्माण गर्नुपर्ने खाँचो औँल्याउनु भयो ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ भइसकेपछिको ३० वर्षे अवधिमा बाल अधिकारको संवैधानिक सुनिश्चितता हुनुका साथै कार्यान्वयनका लागि संरचनालगायतका आधार तयार भएको बताउनु भयो ।

उहाँले चालू आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने योजना रहेको जानकारी दिँदै बालविवाह, बालश्रम शोषण तथा बालबालिका बेचबिखन मुख्य चुनौतिका रूपमा देखा पेरेको बताउनु भयो ।

२०६८ को जनगणनानुसार १८ वर्ष मुनिका बालबालिकाको जनसङ्ख्या ४२ प्रतिशत रहेको छ । तथ्याङ्कीय रूपमा हेर्दा आर्थिक वर्ष २०४७/०४८ देखि २०७६/०७७ सम्मको अवधिमा प्राथमिक/आधारभूत तहको खुद विद्यार्थी भर्नादर ६४ प्रतिशतबाट बढेर ९७ दशमलब १ प्रतिशत पुगेको परिषदका कार्यकारी निर्देशक धरेलले बताउनु भयो ।

आधारभूत तथा माध्यमिक शिक्षामा छात्राको अनुपात बढ्नुका साथै समग्रमा विद्यालय शिक्षाको पहुँच, समता, गुणस्तरीयता तथा प्रभावकारितामा वृद्धि भएको परिषदले जनाएको छ ।

यसैगरी नवजात शिशु, शिशु तथा बाल मृत्युदरमा उल्लेख्य सुधार भई क्रमशः प्रति हजारमा ५० बाट १६ मा, १ सय ८ बाट २५ मा, १ सय ६२ बाट २८ मा झरेकोे प्रतिवेदनमा उल्लेख छ ।

नेपाल बहु–सूचककाङ्क क्लस्टर सर्वेक्षण, २०७६ अनुसार पाँच वर्ष मुनिका तौल नपुगेका बालबालिकाको प्रतिशत देशभर २४ दशमलब ३ रहेकोमा कर्णाली प्रदेशमा ३७ दशमलब ४ प्रतिशत र बागमती प्रदेशमा ११ दशमलब १ प्रतिशत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, पाँच वर्षमुनिका उचाई नपुगेका (पुड्को) बालबालिकाको प्रतिशत देशभर ३१ दशमलब ५ प्रतिशत रहेकोमा कर्णाली प्रदेशमा ४७ दशमलब ८ प्रतिशत र बागमती प्रदेशमा २२ दशमलब ९ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ ।

निकृष्ट बालश्रम, बालविवाह, सडक बालबालिका, अनाथ बालबालिका, पहिचानबाट वञ्चित बालबालिका, पूर्ण तथा अति अशक्त बालबालिका, शारीरिक सजाय र हेपाईबाट प्रभावित बालबालिकाको समस्याको उचित सम्बोधन गर्नु चुनौतीका रूपमा रहेको परिषदले औँल्याएको छ ।

अन्य

भिडियो