१५ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई महानगरीय प्रहरी परिसरको टोलीले मङ्सिर ४ गते भक्तपुर नगरपालिका–५ टौमढीबाट गिरफ्तार गरेको छ ।
प्रहरीले मङ्सिर ४ गते बिहान १६ वर्षीय बालक, अपराह्न १७ वर्षीय बालक र भक्तपुर नगरपालिकाका १९ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका–१ दूधपाटीमा मङ्सिर ३ गते एउटै मोटरसाईकलमा सवार एक समूहले बालिकालाई दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।
प्रहरीको अनुसन्धानमा खत्रीले मोटरसाइकल चलाएको तथा एक जनाले बालिकालाई लक्षित गरी अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो खिचेको र अर्का जनाले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले समेत यसबारेमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।