सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि पीडितलाई सहयोग जुटन् थालेको छ ।
पीडितको सहयोगका लागि सिस्ने गाउँपालिका–७ नाथिगाड घर भइ हाल अमेरिका रहनु भएका मुगलाल रावतले ८ हजार र दाङ घोरहीस्थित सिद्धार्थ बैंकमा कार्यरत दृष्टि शाहले १ हजार रुपियाँ कात्तिक २७ गते सहयोग गर्नु भएको छ ।
इन्सेक अनलाइनमा ०७६ कात्तिक २७ गते ‘सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित’ शिर्षकमा पहिलो पटक समाचार प्राशित भएपछि विभिन्न सञ्चार माध्यमले समाचार बनाएका थिए । समाचार प्रकाशन भएपछि विभिन्न व्यक्तिले रकम तथा रासन सहयोग गर्दै आएकोमा र स्थानीय तहले एक तल्ले घरपनि बनाइ दिएको हो ।

गत वर्ष उक्त समाचार इन्सेक अनलाइनमा प्रकाशन भएदेखि समय–समयमा विभिन्न व्यक्तिबाट सहयोग जुटिरहेको सिङबहादुकी आमा देमु दमाईले बताउनु भयो ।
०७७ कात्तिक २७ गते मात्र रावल र शाहले दमाईको लागि पठाउनु भएको ९ हजार रुपियाँ भूमे गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर बुढा र अनेरास्ववियू रुकुमपूर्वका संयोजक रेवन खड्काले दमाईको आमालाई हस्तान्तरण गर्नु भएको छ ।
०७६/०७७ मा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको ३ लाख रुपियाँ बजेटमा गाउँपालिकाको सिफारिशबाटे नयाँ घर निर्माण गरिएको भूमे गाउँपालिका–२ का वडाध्यक्ष बुढाले बताउनुभयो ।
२०६३ माघ महिनामा उहाँका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको घरमा बम विष्फोट हुँदा कौशीमा लुगा सिलाइरहेका दमाई भुईमा बेहोस हुनुभएको थियो । उक्त घटनापछि मानसिक सन्तुलन गुमाएका दमाईको उपचारपछि सामान्य अवस्थामा आउन सक्नु भएन ।
गाउँमा मान्छेलाई कुटपिट गर्ने गरेपछि उहाँको हात साङ्लोले बाँधिएको नौ वर्ष भएको स्थानीयले बताए । हात बाँधेदेखि अहिलेसम्म हिँड्डुल पनि गरेका छैनन् ।
भूमे गाउँपालिका–२ का स्थानीय पृथीबहादुर बुढा मगरका अनुसार द्वन्द्वका समयमा तत्कालीन माओवादीले लुकाई राखेको अवस्थामा आफैँ विष्फोट भएको थियो । विष्फोटमा उहाँका भाइ रुपचन्द्र र बुहारी आइती दमाई को मृत्यु भएको थियो । विष्फोट हुँदा लुगा सिलाइरहेका सिङबहादुर बार्दलीबाट तल खसेदेखि समस्या आएको थियो ।