१२ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले कोहलपुर नपा – ११ बस्ने ५० वर्षीया मुना ऐरी, बैजनाथ गाउँपालिका–३ बस्ने ३० वर्षीया दुर्गा गुरुङ र सोही ठाउँका ५२ वर्षीय मोतिलाल कुमाईलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई ०७७ जेठ १२ गतेदेखि नेपालगञ्जस्थित दङ्गाली गेष्ट हाउसमा बेचबिखन गरी यौन कार्यमा सङ्लग्न गराएको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, कोहलपुरमा कात्तिक २४ गते उजुरी दिएको इलाका प्रहरी कार्यालयका सई रणधिर जैसीले बताउनु भयो ।
उजुरी पश्चात पीडितहरूको कात्तिक २४ गते उद्धार गरी सोही दिन परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक २४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।