महिला अधिकारकर्मी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित हुनु भएको छ ।
उहाँ दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित हुनुभएको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

न्यूर्योकमा कात्तिक २४ गते भएको कमिटिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १ सय ३७ देशको मत पाएर राणा पुनः निर्वाचित हुनु भएको हो ।
महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी महासन्धि (सिड) अनुमोदन गरेका १ सय ७९ मुलुकमध्ये नेपालकी राणाको पक्षमा १ सय ३७ मुलुकले मतदान गरेका हुन् ।
१९ उम्मेदवारमध्ये सर्वाधिक मत पाउनेको सूचीमा राणा तेस्रो स्थानमा रहनु भयो । सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवारमध्ये राणा एक हुनुहुन्छ ।
नेपालकी राणासँगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् ।
यसअघि उहाँ २०१७-२०२० को कार्यकालका लागि २०१६ मा निर्वाचित हुनु भएको थियो ।