INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी भगाउन भन्दै पन्युँले डामेको घटनाकी आरोपित गिरफ्तार

पाँचखाल नगरपालिका–९ की ३७ वर्षीया शर्मिला बिकलाई बोक्सी भगाउन भन्दै तातो पन्युँले डाँमेको आरोपमा सोही नगरपालिका–१२ की १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

उपचारको क्रममा थापाले बोक्सी  भन्दै पुन्युँले डामेको आरोपमा पीडितका भाइ दीपक रसाईलीले इलाका प्रहरी कार्यालय पलाञ्चोक भगवतीस्थानमा कात्तिक १५ गते उजुरी दिनु भएको थियो।

पीडित लामो समयदेखि बिरामी भइरहने गरेकोमा पतिले उनलाई उपचारको लागि कात्तिक १४ गते बेलुका माताको रूपमा झारफुक गर्दै आएकी थापाकोमा लगेका थिए । थापाले बोक्सी लागेकाेले भगाउनु पर्ने भन्दै पुन्युँ तताएर गालामा डाम्दा शर्मीला गम्भीर घाइते हुनु भएको छ ।

इलाका प्रहरी कार्यालयका असई श्यामबहादुर कार्कीको टोलीले आरोपित थापालाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविकुमार पौडेलले बताउनु भयो ।

लामो समयदेखि मानसिक रोगबाट पीडित विकलाई बेला बेलामा ‘छोप्ने’ व्यथा रहेको र दुई वर्षदेखि डिप्रेसनको औषधि खाइरहेको वडा अध्यक्ष किरण श्रेष्ठले बताउनु भयो ।

एसपी पौडेलका अनुसार घटनामा आरोपित थापा विरुद्ध कात्तिक १६ गते जिल्ला अदालत काभ्रेमा बोक्सी भगाउने भनी गरिएको अमानवीय व्यवहारका विरुद्ध मुद्दा दर्ता भएको छ  ।

पीडित महिलाको धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ ।

अन्य

भिडियो