४० वर्षीया जिवछी देवी यादवलाई कथित बोक्सी आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी केश मुण्डन गर्ने प्रयास गरेको आरोपमा औरही गाउँपालिका–१ झिटकहियाका ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमलादेवी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १३ गते उजुरी दर्ता गरिएको छ ।
कात्तिक ९ गते राति छिमेकी विहारी मुखियाको घरमा माता दुर्गा भगवतीको पुजा हेरेर घर फर्कँदै गरेको अवस्था राति साढे १० बजे आरोपित विमला देवीले आफ्नो घर अगाडि (दरवाजा) मा चामल र फूल फालेको भन्दै कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको इन्सेक प्रतिनिधिलाई पीडितले बताउनु भयो ।
भागेर ज्यान जोगाउन घर भित्रबाट कपाल समातेर जबरजस्ती घर बाहिर ल्याएर कुटपिट गर्दै केश मुण्डन गरी मलमुत्र कोच्याउने प्रयास गरेको पीडितले आरोप लगाउनु भएको छ ।
आफूलाई बचाउने प्रयास गर्दा १२ वर्षीया छोरी पुजाकुमारी यादवलाई समेत आरोपितहरूले कुटपिट गरेको पीडितले बताउनु भयो ।
कुटपिटबाट घाइते भएकी जिवछी देवीको उपचार कात्तिक ९ गते धनुषा अस्पताल जनकपुरमा गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । पीडितको हालसम्म उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले आरोपितहरूको खोजी कार्य भइरहेको बताउनु भयो ।
त्यसैगरी सबैला नपा–१ मुसहरी टोलकी २५ वर्षीया विमलादेवी साह तेलीलाई कथित बोक्सी भन्दै कात्तिक १२ गते साँझ कुटपिट गरेको आरोपमा सोही ठाउँका २० वर्षीय रञ्जित साह र ५५ वर्षीया रासोदेवी साहविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १३ गते उजुरी दिनु भएको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १३ गते दिएको उजुरीको सक्कल फाइल नै इलाका प्रहरी कार्यालयमा दर्ता गरी कारवाही अगाडि बढाउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
कथित बोक्सी भन्दै पीडित विमला देवीलाई कुटपिट गरेको आरोपमा रञ्जितकुमार साहलाई इलाका प्रहरी कार्यालय सबैलाले कात्तिक १२ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर रामकुमार यादवले बताउनु भयो ।
कुटपिटबाट घाइते हुनुभएकी विमलादेवी साहको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । पीडितले न्यायका लागि पहल गरिदिन इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु भएको छ ।