INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार प्रसाईंको अवस्था सार्वजनिक गर्न माग

काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददाता उत्तम प्रसाईं एक हप्तादेखि बेपत्ता भएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले खोजी गरिदिन आग्रह गरेको छ ।

काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले असोज २४ गते प्रेस विज्ञप्ति प्रकाशन गरी पत्रकार प्रसाईंको वास्तविक अवस्था यथाशीघ्र सार्वजनिक गर्न माग गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ– “असोज १८ गते दिँउसो एक बजेसम्म कोठामै रहेका उनी गजुरी स्थित सिसीटिभी फुटेजमा बेग गतिका साथ आफ्नै मोटरसाइकलमा मुग्लिनतिर गएको देखिएको छ भने भोलिपल्ट मुग्लिन स्थित मुग्लिन–नारायणगढ खण्डको ३ नम्मर पुल छेउ हेल्मेट र चाबी सहित उनको मोटरसाइकल सडक छेउमै भेटिएको छ ।”

पत्रकार प्रसाईंको अवस्थाका बारेमा मुग्लिन स्थित इलाका प्रहरी कार्यालय र चितवन स्थित जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले अनुसन्धान जारी राखेको बताए पनि ठोस स्थिति पत्ता लाग्न नसक्दा परिवार र पत्रकार वृतमा आशङ्का पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घ जिल्ला शाखाले विज्ञप्तिमार्फत् नेपाल प्रहरीलाई  प्रसाईंको मोबाइल कल ट्राकिङ मार्फत वास्तविकता पत्ता लगाउन सबै प्रकारका संयन्त्रहरू परिचालन गर्न समेत आग्रह गरेको छ ।

अन्य

भिडियो