INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणबाट १ लाखभन्दा बढी सङ्क्रमित

असोज २३ गतेसम्म नेपालमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज २३ गते २ हजार ५९ जना नयाँ सङ्क्रमित थपिएसँगै १ लाख ६ सय ७६ पुगेको हो ।

सङ्क्रमितको सङ्ख्याको हिसाबले नेपालले चिनलाई उछिनेको छ । वल्डोमिटरका अनुसार नेपाल कोभिड सङ्क्रमित भएका देशहरूमा ४३ नम्बरमा छ भने चिन ४७ नम्बरमा छ ।

दक्षिण एशियाली मूलुकहरुमा नेपाल चौथो नम्बरमा छ । विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकी छन् भने त्यसपछि दोस्रो बढी भारतीय छन् ।

बङ्गलादेश १६ औँ नम्बरमा र पाकिस्तान २२ औँ नम्बरमा रहेको वल्डोमिटरको वेभसाइटमा उल्लेख छ ।  ३ करोड ५० लाखभन्दा बढीमा कोभिड–१९ पुष्टि भएकामा असोज २३ गतेसम्म २ करोड ७५ लाखभन्दा बढी निको भइसकेका छन् ।

सङ्क्रमितमध्ये १० लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको पनि वल्डोमिटरले जनाएको छ ।

नेपालमा ११ लाख ५० हजारको हाराहारीमा परीक्षण हुँदा १ लाखमा सङ्क्रमण पुष्टि भएकामा ७३ हजार निको भएका छन् । कोभिड सङ्क्रमित ६ सय जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित २७ हजार भएकामा १५ हजारभन्दा बढीले घरैमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् भने ११ हजार जनाको उपचार अस्पताल तथा आइसोलेशन सेन्टरहरूमा भइरहेको छ ।

सहरमा भीडभाड व्यापक भएकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा पैलिइसकेको बताउँदै जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनु भएको छ ।

उहाँले भन्नु भयो–‘जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले विशेष अभियान सञ्चालन गर्नुपर्छ । परीक्षणलाई व्यापक बनाउनु पर्छ । सकारात्मक सन्देश मात्रै प्रवाह गर्नुपर्छ ।’

अन्य

भिडियो