घरबेटीले कोठामा प्रवेश गर्न कोभिड–१९ सङ्क्रमण नभएको पीसीआर परीक्षणको रिपोर्ट मागेपछि बाराको कलैया नगरपालिका–८ का सुरेश मण्डल शुक्रराज ट्रिपिकल सेन्टर, टेकुमा लाइन बसेको दुई दिन एक रात बित्यो । तर स्वाब परीक्षणको पालो अझै आएको छैन ।
काठमाडौँमा निर्माण मजदुरका रूपमा काम गर्दै आएका सुरेश लकडाउन पछि गत वैशाखमा घर गए । ज्याला मजदुरीमा निर्भर रहँदै आएको उनको परिवार लकडाउनपछि दैनिक गुजारा चलाउन पनि नसक्ने अवस्थामा पुगेपछि काम खोज्न फेरी काठमाडौँ आए ।
पैसा तिरेर पीसीआर परीक्षण गर्ने आर्थिक अवस्था नभएपछि उनि जस्ता सयौँ मानिसहरू विगत एक महिला देखि टेकुमा लाइन बस्दै आएका छन् ।
सुरेशले भन्नु भयो –‘लकडाउन भएपछि चार दिन हिँडेरै घर पुगेँ । त्यतिबेला काठमाडौँमा काम पनि भएन । खानाको पनि समस्या भयो । अहिले काठमाडौँमा काम सुरु भयो भनेर ठेकेदारले बोलाए । तर पहिले बस्दै आएको कोठामा घरबेटीले पस्नै दिएनन् ।’
उहाँ भन्नु हुन्छ – ‘पीसीआर परीक्षणका लागि लाइन बस्दा बस्दै बिरामी नै भइसके । अझै कहिले पालो आउने हो, थाहा छैन ।’ यसरी टेकुमा स्वास्थ्य परीक्षणका लागि लाइन बस्नेहरूमा अधिकांश प्रदेश २ बाट काठमाडौँ आएर ज्याला मजदुरी गर्ने नागरिकहरू रहेका छन् ।
घरबेटीले कोभिड–१९ सङ्क्रमित हुन सक्ने भन्दै पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म पहिले बस्दै आएको डेरा प्रवेश नै नदिएको
उनिहरूको भनाई छ ।
रजनिश ठाकुरलाई पनि सात वर्षदेखि बस्दै आएको कोठामा घरबेटीले छिर्नै दिएनन् । उनी भन्छन्– ‘१७ गते राति काठमाडौँ आएर कोठामा पुगेको मात्र के थिएँ । घरबेटी आएर पीसीआर परीक्षण गरेको रिपोर्ट आए मात्र बस्न दिन्छु भने । त्यसपछि त्यो राति देखि नै लाइनमा बसेको छु । चिउरा र दालमोठ खाएर लाइनमा बसिरहेको छु ।’,
काठमाडौँको बाफलमा कपाल काट्दै आईरहेका ठाकुरले दुखः पोख्दै भने, ‘हामी जस्ता काम गरेर खानेलाई सबैले हेप्छन् । यहाँ पनि पैसा हुनेको छिटै परीक्षण हुन्छ । हामीहरू लाइन नबसी सुखै छैन । चिसोमा बस्दा बस्दै रुघा–खोकी नै लागि सक्यो ।’
पीसिआर परीक्षणका लागि लाइन बस्नेहरूमा दुई महिने सुत्केरी महिला र बिरामीहरू समेत रहेका छन् । यसरी भौतिक दुरी समेत कायम नगरी लाइनमा बस्दा कोरोना सङ्क्रमणको जोखिम झनै बढ्ने जनस्वास्थ्य बिज्ञहरूको भनाई छ ।
टेकु अस्पतालका निर्देशक डाक्टर बासुदेव पाण्डेले भौतिक दुरी कायम राख्न भनिए पनि सिमित ठाउँ, स्वास्थ्यकर्मी र प्रयोगशालाको क्षमताका कारण समस्या भएको बताउनुभयो ।
उहाँले घरबेटीहरूले अनावश्यक रूपमा बहालमा बस्ने सबैलाई पीसीआर परीक्षणको रिपोर्ट देखाउन दबाब दिएपछि लामो लाइन देखिएको बताउनुभयो । स्वास्थ्यकर्मीहरूले कोरोना सङ्क्रमणको उच्च जोखिम बहन गर्दै स्वाब सङ्कलन र परीक्षणलाई निरन्तरता दिइरहेको डाक्टर पाण्डेको भनाई छ ।
टेकु अस्पतालमै कार्यरत डाक्टर अनुप बास्तोलाले भौतिक दुरी नबनाई स्वास्थ्य प्रोटोकलको पालना नगरी लामो समय लाइन बस्दा झनै सङ्क्रमण फैलिने सम्भावना रहने बताउनुभयो ।
उहाँले घरबेटीहरूलाई बहालामा बस्नेहरूलाई एक हप्ता होम आइसोलेशनमा बस्न र त्यसपछि रोगको लक्षण देखिएमा मात्र पीसीआर परीक्षणका लागि पठाउन आग्रह गर्नुभयो ।