बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटकी ४३ वर्षीया माया सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति बीरबहादुर सार्कीलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
असोज १३ गते राति कुटपिट भएपछि पतिले पत्नीकाे हत्या गरी मृतकलाई घर नजिकै बारीमा गाडेको भन्ने स्थानीयहरूले उजुरी दिएका थिए ।
सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा मृतकको शव गाडिएको अवस्थामा भेटिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर शर्माले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले प्रारम्भिक अनुसन्धानबाट आरोपितले हत्यापछि शवलाई लुकाउन खोजेको जस्तो देखिएकोले हाल जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।
शरीरलाई उत्खनन गरी पोष्टमार्टमका लागि असोज १४ गते बेनी अस्पतालमा लगिएको तर मृत्युको कारण यकिन हुन नसकेकोले शव पोष्टमार्टमको लागि सोही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएको जिल्ला न्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिनुभयो ।