INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक आवद्ध युवा समूहद्वारा ‘तपाइँको मास्क खोई ?’ अभियान सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका–९ मा गठित बेद युवा समूहले समुदाय स्तरमा कोरोना भाइरस रोकथामका लागि  सचेतना फैलाउन ‘तपाईको मास्क खोई’ अभियान  सुरू गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमा समेत फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा फैलाउनका लागि युवा समुहले बगनासकाली सुचना केन्द्रसँगको सहकार्यमा बगनासकाली गाउँपालिका – ८ बराङ्दी र ७ खानीगाउँको मुख्य देउराली चोकबाट अभियान सुरू गरेको समुहका अध्यक्ष बरुण बस्यालले बताउनु भयो ।

photo2020092302palpa

गाउँमा कोरोना आएको छैन भनेर मास्क समेत नलगाएर बाहिर हिडिरहेको अवस्थामा मास्कबारे जानकारी गराउने, मास्क प्रयोगका लागि प्रेरित गर्ने उद्देश्यले अभियान सुरू गरिएको र अभियानलाई अन्य टोलहरूमा समेत निरन्तरता दिइने उहाँले बताउनु भयो ।

अभियान अन्तरगत मुख्य चोकहरूमा ‘तपाईको मास्क खोई’ लेखिएको ब्यानर टासिएको र बाटोमा यात्रा गर्नेहरूले मास्कको प्रयोग नगरेको भए मास्कको महत्वबारे जानकारी गराउँदै मास्क समेत उपलब्ध गराउँदै आएको अध्यक्ष बस्यालले बताउनु भयो ।

photo2020092301palpa

समुहले कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनको अवधिमा भौतिक दुरी कायम गर्दै दुईवटा सामाजिक सचेतना मुलक भिडियो डकुमेन्ट्री निर्माण समेत गरेको समुहका सचिव जीवन न्यौपानेले बताउनु भयो । यसरी निर्माण गरिएको भिडियो युट्युवमा समेत राखिएको र सबै क्षेत्रमा राम्रो प्रतिक्रिया आएको उहाँले बताउनु भयो ।

इन्सेकले  स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत गठन भएको युवा समुहले समुदाय स्तरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । युवा समुहको सामाजिक अभियानले समुदाय स्तरमा निकै फाइदा पुगेको भन्दै स्थानीय जनप्रतिनिधिहरू समेत खुशी हुनु भएको छ । बगनासकाली गाउँपालिका –७ की वडा सदस्य रिता भट्टराईले पढाईसँगै युवाहरूले समुदाय स्तरमा गर्दै आएको काम निकै प्रभावकारी रहेको बताउनु भयो ।

अन्य

भिडियो