सल्यान कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाराबाजी गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
असार १७ गते बिहान ४ बजेदेखी नाराबाजी गरेर आन्दोलन थालेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले कारागारको अवस्था अनुगमन गर्नुभएको थियो ।
कारागारको क्षमता अभावका कारण ५ जना कैदीबन्दीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागेको विषयमा विरोध गर्दै आन्दोलन गरिएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो ।
साथै, कैदीबन्दीहरूले खरिद गर्न लगाएको सामग्रीको मुल्य महँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेको लगायतका समस्या समेत उठान गरेपछि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको प्रजिअ पोखरेलले इन्सेकलाई बताउनुभयो ।
बिहान घटनाको अवस्थाबारे बुझ्न जिल्ला स्थित अधिकारकर्मी र पत्रकारहरू कारागार पुगेपनि कारागार प्रवेशमा रोक लगाएपछि बाहिरबाटै फर्किएको पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनुभयो ।
इन्सेक प्रतिनिधि सँगको टुलिफोनमा कारागारका प्रमुख जेलर बलबहादुर केसीले सरुवाको प्रकृया अगाडि बढाएपछि जान नचाहने समूहले आन्दोलन गरेको प्रतिकृया दिनुभयो ।
हाल जिल्ला कारागार सल्यानमा ९३ जना पुरुष, १७ जना महिला र ३ जना नाबालक गरी १ सय १३ जना रहेको कारागार प्रशासनले जनाएको छ ।