नेपाल प्रहरी र सशस्त्र प्रहरीले भदौ १० गते गोरू काटेको आरोपमा झापा गाँउपालिका–३ का ५२ वर्षीय अब्दुल सलाम र ५० वर्षीय ताजबुल हकलाई गिरफ्तार गरेपछि बढेको तनाबमा प्रहरीको गोली लागि झापा गाँउपालिका–३ का ३८ वर्षीय रसिकुल आलमको भदौ १० गते मृत्यु भएको छ ।
झापा गाउँपालिका–३ कटुवामारीमा गोरू काटेर मासु बेचिरहेको सूचना पाएपछि भदौ १० गते प्रहरी चौकी टाघनडुब्बा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती गरेको थियो । सो क्रममा घटनास्थलबाट चौपायाको मासुसहित अब्दुल सलाम र ताजबुल हकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आरोपितद्वयलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेपछि स्थानीय र प्रहरीबिच तनाव सिर्जना हुन पुगेको थियो ।
सोही क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई स्थानीयले घरेलु हतियारले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।
सोही क्रममा पिठ्युमा गोली लागि घाइते भएका रसिकुलको वि एण्ड वि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भयो ।
उहाँले सुरक्षाकर्मीले जीवन रक्षाका लागि हवाई फायर गर्न सक्ने वा संयमित भएर स्थिति नियन्त्रणमा लिनु पर्नेमा गोली प्रहार गर्नुलाई दुखद् घटना भएको बताउनु भयो ।
शवको पोष्टमार्टम भदौ ११ गते मेची अञ्चल अस्पतालमा गरिएको छ । गिरफ्तारीमा परेका दुई जनालाई प्रहरीले भदौ १० गते राति रिहा गरेपछि स्थानीय र प्रहरीबिचको विवाद सकिएको छ ।