हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कार्यरत जनस्वास्थ्य निरीक्षक एवम् स्वास्थ्य सहसंयोजक सिनियर अहेव ५३ वर्षीय रामदेव यादवलाई सोही कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत ४० वर्षीय बिरेन्द्र यादवले कुटपिट गरी घाइते बनाएको भन्दै वैशाख २१ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
फेसबुकमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै बदनामी हुने गरी जथाभावी नलेख्न भनेर सम्झाउँदा कार्यालय कोठाभित्रै वैशाख १९ गते आरोपितले कुटपिट गरेको पीडित रामदेवले बताउनु भएको छ । कुटपिटबाट घाइते रामदेवको टाउको फुटेको र तीन ओटा टाँका लागेको छ । घाइतेको हनुमानगर बजारमा रहेको निजी क्लिनिकमा उपचार भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा घाइतेको घाउँजाँच परीक्षण भएको छ । आरोपित बिरेन्द्रले घाइते रामदेव नै आफ्नो कुर्सीबाट उठेर जाइलागे पछि हातपात हुँदा उहाँलाई चोट लागेको बताउनु भएको छ ।
सिनियर कर्मचारीलाई जिम्मेवारी नदिई कनिष्ठ कर्मचारीलाई महामारी रोकथामको जिम्मेवारी दिएको विषयमा फेसबुकमार्फत असन्तुष्टि जनाउँदै आउनु भएका बिरेन्द्रले कोरोना रोकथाम र नियन्त्रणका लागि कोरोना राहत कोषको रकम कति र कसरी खर्च हुँदैछ भनेर सार्वजनिक हुनुपर्ने तथा स्पष्ट नेतृत्वविहीन स्थानीय तह र खुशी पार्ने दाउमा स्वास्थ्यकर्मी भनेर फेसबुकमा टिप्पणी लेखेको विषयमा विवाद भएको थियो ।