INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

मिथिला नपा–९ लालभिती बस्ने २४ वर्षीया बिणा चौहान लामालाई उहाँका पति २८ वर्षीय हरि चौहानले हत्या गरेको आरोपमा प्रहरीले वैशाख २१ गते पति हरि चौहानलाई  गिरफ्तार गरेको छ ।

वैशाख १८ गते जङ्गल घुमाउन लैजाने बहाना बनाएर सुनियोजितरूपमा मिथिला नपा–९ स्थित लालगढको मगर्नी खोलामा सलले घाँटी थिचेर हत्या गरि सामुदायिक वन लालगढमा खनेर राखेको खाल्डोमा शव पुरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीले जानकारी दिनु भएको छ ।

मृतक बिणाका वुवा पदम लामाले छोरी हराएको भनी ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा पति हरि चौहानलाई वैशाख २१ गते  गिरफ्तार गरि सोधपुछ गर्दा निजकै वयानको आधारमा खोलामा गाडिएको अवस्थामा शव बरामद गरिएको प्रहरी इन्स्पेक्टर कार्कीले बताउनु भयो । हरिलाई जिल्ला अदालतबाट वैशाख २२ गते नै १० दिने म्याद थप गरि थप अनुसन्धान भईरहेको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

हत्या घटनामा संलग्न आरोपमा मृतककी कान्छी बहिनी १८ वर्षीया गंगा लामालाई समेत प्रहरीले गिरफ्तार गरि अनुसन्धान सुरु गरेको बताएको छ । हरिले श्रीमतीको हत्या गर्नुको कारण कान्छी साली गंगा लामासँगको प्रेम प्रसङ्ग रहेको कुरा उठाएकाले गंगालाई समेत गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

बिणाले पति हरिको अवैध सम्बन्ध आफ्नै कान्छी बहिनीसँग भएको थाहा पाएर पति हरिलाइ मानसिक यातना दिन थालेपछि आवेशमा आएर हत्या गरेको प्रहरीलाई बताएका छन् ।

पेशाले गाडी चालक रहेका हरि र बिणाबिच पाँच वर्षअघि विणासँग अन्तरजातिय विवाह गरेको बताउँदै घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतक विणाको चार वर्षकी एक छोरी र साढे दुई वर्षको एक छोरा गरी जम्मा दुई सन्तान रहेका छन् ।

शवको वैशाख २२ गते प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । शव माइती पक्षलाई बुझाइएको र दाह संस्कार समेत वैशाख २२ गते नै भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो