राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा उपचारका विषयमा ३३ बुँदे निर्देशन दिँदै समितिले पारदर्शी ढङ्गले काम गरी जनआस्था आर्जन गर्न निर्देशन दिएको हो ।
‘जनविश्वासलाई मध्यनजर गर्दै कुनै पनि काम पारदर्शी तवरले सञ्चालन गरी यस विपदको समयमा जनआस्था आर्जन गर्ने’ समितिको निर्देशनमा भनिएको छ । कोरोना महामारी रोकथामका लागि सरकारले गरेको औषधि खरिदलगायतका निर्णय विवादास्पद भएका बेला समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले जारी लकडाउनलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खोल्न पनि सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरसको उच्च जोखिममा नरहेको बताउनु भएको छ । उहाँले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको जानकारी दिनुभयो ।
‘लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक हदसम्म सफलता हात पारेका छौँ’ वैशाख १९ गते राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले भन्नुभयो ।
मन्त्री ढकालले नेपालमा अपनाइएको सावधानिका कारण उच्च जोखिममा नरहेको पनि जिकिर गर्नुभयो । साथै कोरोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको उहाँले बताउनु भयो । स्वास्थ्यमन्त्री ढकालले लकडाउन खुकुलो बनाउने विषयमा सरकारले विचार गरिरहेको बताउनु भयो । कृषि, उद्योगलगायतका क्षेत्रलाई मध्यनजर गरेर लकडाउन केही खुकुलो बनाउन विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।