सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने आम हड्तालले पुस १ गति पहिलो दिन पश्चिम क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार बन्दका कारण रुपन्देहीका प्रमुख ठुला शहर बुटवल तथा भैरहवालगायत ग्रामीण क्षेत्रका बजार पूर्ण रूपले ठप्प रहेका छन् । आम हड्तालका कारण यातायात, उद्योग व्यवसाय, वित्तिय संस्था, शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहेका छन् । बन्दकर्ताले एम्बुलेन्स, शव बाहन, प्रेस, विवाह, पर्यटक, दूध बोकेका सवारीलाई निर्वाध चल्न दिने बताएका छन् ।
बन्दको विरोधमा पुस १ गते साँझ धकधई गाविसमा सङ्घीय समाजवादी फोरमका कार्यकर्ताहरूले विरोध र्याली निकालेर एमालेविरुद्ध नाराबाजी गरेको प्रहरीले जनाएको छ । बन्दका कारण कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार रोल्पामा पुस १ गते थाली बजाएर विरोध गरिएको छ ।

रोल्पाको सर्वदलीय तथा सर्वपक्षीय समितिको नेतृत्वमा रोल्पाली महिलाहरूले थाली र चम्चा बजाएर संशोधन विधेयक विरुद्ध र्याली निकालेका हुन् । सरकारले दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा आन्दोलित बनेका रोल्पालीहरूले लामो समयसम्म पनि आफ्ना मागहरू प्रति चासो नदिएको भन्दै आक्रोशपोखेका छन् ।
विरोध र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै रोल्पा, प्यूठान संयुक्त सङ्घर्ष समितिका संयोजक तथा सांसद अमरसिङ पुनले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरेमा आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताए ।
उनले जनताको आन्दोलनलाई उल्टै दबाउनको लागि प्रहरी प्रशासन लगाएर दमन गर्न खोजेमा त्यसको प्रतिकार गर्न गाउँ-गाउँबाट जनता उतारेर प्रहरी र प्रशासनलाई घेराबन्दी गर्न सक्ने चेतावनी समेत दिए ।
इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार संविधान संशोधनको विषयलाई लिएर आह्वान गरिएको तीन दिने आम हड्तालको पहिलो दिन नवलपरासीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरू चलेका छैनन् भने शैक्षिक संस्था, उद्योग धन्दा, कलकारखाना तथा व्यापार व्यवसाय ठप्प रहेका छन् ।
बन्दकर्ताहरूले पूर्वपश्चिम राजमार्गका विभिन्न चोक र सुनवल, बर्दघाट, दुम्किवास, चोरमारा, कावासोती, दलदले, रजहर, गैंडाकोटलगायतका ठाउँहरूमा नाराबाजी र कोणसभा गर्दै ५ नं. प्रदेशलाई टुक्र्याएको विरोध गरेका छन् । यो समाचार तयार पार्दासम्म जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्यूठान बन्दको दोस्रो दिन तथा आम हड्तालको पहिलो दिन पुस १ गते प्यूठान जिल्लाको जनजीवन प्रभावित भएको छ ।

संविधान संशोधनमार्फत ५ नम्वर प्रदेशलाई टुक्र्याउने सरकारको प्रस्तावको विरोधमा पुस १ गते प्यूठान जिल्लालगायत ५ नम्बर प्रदेशका १२ ओटा जिल्ला बन्द गरिएको हो ।
बन्दको कारण जिल्लाबाट बाहिरि जिल्लामा जाने र जिल्लामा आउने लामो तथा छोटो दुरीका सवारी साधन दिनभर चलेनन् । जिल्लाका व्यापारिक केन्द्रहरू बिजुवार, बाग्दुला, भिग्री, मच्छी र खलङ्गाका पसल, कलकारखान र उद्योग, शिक्षण संस्था पूर्ण रूपमा बन्द रहे । प्रहरी, पत्रकार र एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साध भने निर्वाध सञ्चालनमा छन् ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरूले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन् । बन्दलाई सफल बनाउन एमाले, एकीकृत माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस, माले, माओवादी क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अखण्ड नेपाल पार्टीका नेता तथा कार्यकर्ता बिहानै बजारका चोक चोकमा विरोध र्यालीसहित निस्केर बन्द सफल पार्न लागि परेका थिए ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता संविधान संशोधन प्रस्तावको विरोधमा गरिएको बाँके बन्दका कारण बालबालिकाहरूको पठन पाठनमा अवरोध भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् । मोटर साइकल र रिक्सा आंशिक रूपमा सञ्चलनमा आए पनि बन्दकर्ताले अवरोध गरेका थिए । बन्दको अवज्ञा गर्दै मोटरसाइकल चलाएको भन्दै बन्दकर्ताले पुष्पलाल चोक नजिकै भे १ ब ५६३ नम्बरको मोटसाइकलको अगाडिको भाग पुर्ण रूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बन्दमा कारण अन्य कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार संविधान संशोधन प्रस्तावको विरोधमा आह्वान गरिएको आम हडतालको पहिलो दिन लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, बजार, शिक्षण संस्था ठप्प पारिएको छ ।
पूर्वपश्चिम राजमार्गको चन्द्रौटा, इमिलिया, गोरुसिंगे, बनगाई जितपुरलगायतका बजार ठप्प रहेका छन भने जितपुर तौलिहवा सडक खण्ड अन्तर्गत ओदारी पचेहरा पनि ठप्प छ ।
बन्दको समयमा प्रेस, एम्बुलेन्स, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधनलाई भने निर्वाध रूपमा चल्न दिने आन्दोलनकारीले जानकारी दिएका छन् ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार सरकारले ल्याएको संविधान संशोधन प्रस्तावकोविरोधमा आह्वान गरिएको आम हड्तालको पहिलो दिन यहाँको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ ।
संविधान संशोधन प्रस्तावमार्फत प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लाहरूलाई प्रदेश नं. ४ मा गाभ्न खोजेर तराई र पहाडलाई अलग्याउन खोजिएको भन्दै मङ्सिर १५ गतेदेखि संयुक्त सङ्घर्ष समिति पाल्पाको आयोजनामा पाल्पामा चरणबद्ध आन्दोलन हुँदै आएको छ ।
आम हड्तालका कारण सडकमा सार्वजनिक सवारीका साधन चलेनन् । विद्यालय, कलकारखानासमेत ठप्प भएका छन् । प्रदर्शनकारीले तानसेन सहित ग्रामीण क्षेत्रबाट बन्दको अवज्ञा गरेको भन्दै दूधका गाडी, मोटरसाइकल र जीप २० ओटा भन्दा बढी नियन्त्रणमा लिएर साँझ ५ बजेपछि मात्रै छाडिदिएका थिए । प्रदर्शनकारीले सडकमा टायर बालेर सरकारको उक्त कदमको विरोध गरेका थिए ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आम हड्तालका कारण अर्घाखाँची जिल्ला पूर्ण रूपमा बन्द भयो ।
संयुक्त सङ्घर्ष समितिको आह्वानमा प्रहरी कार्यालयबाहेक सबै सरकारी कार्यालय बन्द गराइएको थियो । सरकारी कार्यालय बन्द पछि सेवा लिन आएका सेवाग्राही सेवा लिन नपाई त्यसै घर फर्किएका थिए ।