हतुवागढी गाँउपालिका–६ का २६ वर्षीय एक पुरूषमा वैशाख ११ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि वैशाख १३ गते सो क्षेत्रमा प्रदेशका मन्त्रीहरूले अनुगमन गर्नु भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे,भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी,जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगर र गाँउपालिका अध्यक्ष प्रेमकुमार राईलगायत सम्मिलित टोलीले हतुवागढी क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मुख्यमन्त्री शेरधन राईले जिल्लाभरी नै कोरोना भाइरसको परीक्षण प्रभावकारी बनाउने,स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश भरीमा भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तथा सुरक्षाकर्मी परिचालन गरी क्वारेन्टाइनको कडा निगरानी गरिने बताउनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मी,स्वास्थ्य उपकरणलगायतको व्यवस्थापन तत्काल गरिने बताउनुभयो । उहाँले चिकित्सकको सल्लाह बमोजिम कोरोना नियन्त्रणका लागि उदयपुरसहित अन्य क्षेत्रमा अस्थायी कोरोना अस्पताल निर्माणका लागि गृहकार्य थालेको बताउनुभयो ।
अनुगमनका क्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जिल्लामा कुनै समस्या आए तत्काल प्रदेश सरकारसँग सहयोग मागिने बताउनुभयो ।
डिएसपी नरबहादुर सलामी मगरले जिल्लाका नाका तथा सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइने बताउनुभयो ।
विदेशबाट फर्किएका युवामा कोराना सङ्क्रमण देखिएकाले तत्काललाई हतुवागढीलाई पीपीइ दश थान,थर्मल गन चार थान,आरडीटी किट एक सय थान,सेनिटाइजर ३० ओटा,पञ्जा एक हजार थान र एन९५ मास्क ५० ओटा प्रदेश सरकारले गाँउपालिकालाई उपलब्ध गराएको छ ।