सोनमा गाउँपालिकामा एक स्थानीयले दलित समुदायको वस्तीमा रहेको चापाकलको ह्यान्डल खोलेर लगेपछि अति गरिब विपन्न डोम समुदाय खानेपानीबाट वञ्चित भएका छन् ।
जग्गा विवादका क्रममा स्थानीय विजय यादवले कलको ह्यान्डल खोलेर लगेपछि सोनमा गाउँपालिका–५, खयरवनीका डोम समुदायका पाँच घरपरिवार पोखरीको पानी पिउन बाध्य भएका हुन् ।
शुद्ध पानी पिउनबाट वञ्चित भएका ती घरपरिवार प्रदेशसभा सांसद कौशल यादव र वडाध्यक्ष रामविनेक यादवका छिमेकी समेत हुन् ।
वडाध्यक्ष रामविनेक यादवको घर त्यो डोम वस्तीबाट १ सय मिटर मात्र पर छ भने प्रदेश सांसद यादवको घर ५ सय मिटरको दूरीमा छ । चापाकलको ह्यान्डल खोल्ने विजय पनि वडाध्यक्ष कै छिमेकी हुन् । उनको यस कार्यमा वडाध्यक्षले समेत सघाएको स्थानीयको आरोप छ ।
एक साताअघि घर निर्माणको जग्गा विवादका क्रममा यादवले चापाकलको ह्यान्डल खोलेर लगेपछि पोखरीकै पानी खान बाध्य भएको स्थानीय लीला मल्लिक डुमले दुखेसो पोख्नुभयो ।
पीडित लिलाले भन्नुभयो–‘विजय महाजनले गालीगलौज र धाकधम्की दिँदै हामीले पानी खाने चपाकलको ह्यान्डल झिकेर लग्नु भयो । हामी तल्लो जात भएकाले अन्य ईनार र कल बर्जित छ । हामी डोम समुदाय बाध्य भएर अहिले पोखरी कै पानी खान्छौं, त्यही पानीमा खाना पकाउँछौं, नुहाइ धुवाइ लगायत सबैथोक गरिरहेका छौं ।’
लिलाका अनुसार यो जग्गामा उनको परिवार चार– पाँच पुस्तादेखि बसिरहेको छ। उहाँले भन्नुभयो– ‘भोग चलन कै जग्गामा घर बनाउँदा स्थानीय विजय महाजन लगायत उनका आफन्त आएर यो जग्गा हाम्रो भन्दै धाकधम्की दिने गर्छन् । अन्तमा पानी खानबाट नै वञ्चित गर्नुभयो ।’
डोम समुदाय त्यहाँको करिब सवा कठ्ठा ऐलानी जग्गामा बसोबास गरिरहेका छन् । स्थानीय यादव समुदायका केही व्यक्तिले अतिक्रमण गरेपछि ती पाँच घर डोम परिवार १५ धुरमा सीमित भएका छन् ।
उनीहरूको भोगचलनमै रहेको जग्गामा प्रदेश २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत गत महिनादेखि छाप्रो घर भत्काएर पक्की घर निर्माण गर्न थालेको छ । तर तीमध्ये अजय मल्लिक र विजय मल्लिकले आफ्नो ऐलानी जग्गामा घर बनाई रहेको भन्दै स्थानीय विजय यादवले डोम परिवारलाई जीवनयापनमा बाधा पु¥याई दिएको पीडित समुदायको आरोप छ ।
न्यायका लागि जनप्रतिनिधि र प्रहरी प्रशासनलाई हारगुहार गर्दा कसैले नसुनेको डोम समुदायको गुनासो छ । घर निर्माण सुरु भएदेखि नै विजय तथा उनको परिवारका सदस्यले पटक–पटक घर भत्काइ दिएको लीलाले गुनासो गर्नु भयो ।
डोम समुदायलाई खानेपानीबाट वञ्चित गरेको विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष रामविनेकले प्रदेश सांसद कौशल यादवकै कारण पटक–पटक विवाद उत्पन्न हुने गरेको आरोप लगाउनु भयो ।
वडाध्यक्ष यादवले भन्नुभयो–‘खानेपानीबाट वञ्चित गरिएको विषयमा कौशल माननीय जीसँग सोध्नुस् । जग्गा विवाद टुङ्गो लगाउन अमिन लिएर जाँदा उहाँले नै नाप्न दिनु भएन । त्यतिकै डोम समुदायको घर बनाउन सुरू गराउनु भयो । त्यसैले विवाद समाधान भएन ।’
यता प्रदेश सांसद कौशल यादवले खानेपानीबाट वञ्चित गरिएको विषयमा वैशाख ६ गते मात्रै जानकारी भएको र यस विषयमा आफूले पहलकदमी लिने बताउनुभयो ।
सांसद यादवले भन्नुभयो, ‘डोम बस्तीमा मेरो अगुवाइ मै जनता आवास अन्तर्गत घर बनिरहेको छ । तर, पानी खानबाट वञ्चित गरिएको विषयमा अहिलेसम्म मलाई जानकारी छैन । म यस विषयलाई गम्भीरतापूर्वक लिएर पहल कदमी लिन्छु ।’
यस सन्दर्भमा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव सँग बुझ्दा उहाँले डोम समुदायलाई खानेपानीबाट वञ्चित गरिएको विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले यस विषयमा बुझेर छलफल गरी समस्या समाधान गर्ने बताउनु भयो ।
यस्तै, महोत्तरी जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले यस विषयमा प्रहरीमा कुनै जानकारी नआएको र तुरन्त बुझेर कारवाही प्रक्रिया अघि बढाउने बताउनु भयो ।