INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार  नगर : आयोग

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीको ध्यानाकर्षण गरेको छ ।

देशमा जारी रहेको लकडाउन उल्लङ्घन गरेको आरोपमा ०७७ वैशाख ३ गते त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरू डा. शम्भू खनाल, डा. तेजप्रकाश शाह र डा. विकास शाह आफ्नो ड्युटी सकेर घर फर्कने क्रममा प्रहरीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको घटनाका सम्बन्धमा आयोगले ०७७ वैशाख ५ गते विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण गरेको हो ।

घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रतिनिधिहरू सम्मिलित आयोगको केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले प्रारम्भिक अनुगमन गरेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले बताउनु भयो ।

अनुगमनबाट प्राप्त तथ्य अनुसार चिकित्सकहरूले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको र कुटपिटबाट डा. तेजप्रकाश शाहको दाहिने हात सुन्निएको र निलडाम रहेको पाइएको आयोगले जनाएको छ ।

सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौँको कलंकीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुर्व्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानविय ढङ्गले कुटपिट गरेको, बैतडी, दार्चुलालगायतका जिल्लाहरूमा समेत प्रहरीले सर्वसाधारणमाथि दुर्व्यवहार गरेको पाइएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरूमाथि भएका यस प्रकारका कुटपिट तथा दुर्व्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरूको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न, दोषी प्रहरीलाई कानुनबमोजिम कारबाही गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीहरूलाई संयमित भई कार्य गर्न समेत आयोग आग्रह गरेको छ ।

लकडाउनको अवस्थामा नेपाल सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्दा/गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्न समेत आग्रह गरिएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाकर्मीद्वारा नागरिकहरूमाथि भएको दुर्व्यवहार एवम् कुटपिटको घटनाप्रति जवाफदेहीता निगरानी समितिले पनि गम्भीर ध्यानाकर्षण जनाउँदै प्रहरीको बल प्रयोग रोक्न प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।

अन्य

भिडियो