प्रदेश ५ का जिल्लाहरूमा १४ दिन क्वारेण्टाइनमा बसेका व्यक्तिहरूको र्यापीड डाइग्नोष्टिक टेष्ट भइरहेको छ ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्न जिल्लाका १० ओटै स्थानीय तहको गरी कुल ३ करोड ७४ लाख ५० हजार रुपियाँ कोषमा जम्मा भएको छ ।
शान्तिनगर गाउँपालिकाले ५५ लाख रुपियाँ, बबई गाउँपालिकाले ५४ लाख ५० हजार रुपियाँ, तुलसीपुर उमनपा, लमही नपा, गढवा गाउँपालिका र बङ्गलाचुली गाउँपालिकाले ५०/५० लाख रुपियाँको कोष निर्माण गरेका छन् । यस्तै राजपुर गाउँपालिकाले ३० लाख रुपियाँ, राप्ती गाउँपालिकाले २० लाख रुपियाँ, घोराही उमनपाले १० लाख रुपियाँ र दङ्गीशरण गाउँपालिकाले ५ लाख रुपियाँको कोष स्थापना गरेका छन् ।
स्थानीय तहहरूमा दाताहरूले अहिलेसम्म २८ लाख ७४ हजार १ सय २६ रुपियाँ सहयोग गरिसकेका छन् भने झण्डै २० लाख रुपियाँ दिने प्रतिवद्धता गरेका छन् । जिल्ला विपद व्यवस्थापन समितिमा पनि १ लाख २ हजार रुपियाँ सहयोग सङ्कलन भएको छ । लमही नपाका मेयर, उपमेयर र वडा अध्यक्षहरूको एक महिनाको पारिश्रमिक गरी २ लाख ८५ हजार रुपियाँ कोषमा थप गरिएको छ ।
हालसम्म दाङका नौ ओटा स्थानीय तहले १२ हजार ६ सय २० परिवारलाई राहत वितरण गरेका छन् । हालसम्म सबैभन्दा धेरै तुलसीपुरले ५ हजार ४९ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी लमही नपाले २ हजार २ सय ६२, घोराही नपाले ९ सय, शान्तिनगर गाउँपालिकाले ९ सय १०, राजपुर गाउँपालिकाले ९ सय, गढवा गाउँपालिले १ हजार १८, राप्ती गाउँपालिकाले ६ सय ११, बङ्गलाचुली गाउँपालिकाले ७ सय ४० र दङ्गीशरण गाउँपालिकाले २ सय २९ परिवारलाइ पहिलो चरणको राहत वितरण गरेका छन् । गढवा गाउँपालिका, घोराही गाउँपालिका, राजपुर गाउँपालिका र लमही नपाले राहत वितरण सुरू गरेका छन् भने बबइ गाउँपालिकाले तयारी गरिरहेको छ ।
क्वारेण्टाइनमा बसेका १४ जनाको र्यापीड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएकोमा सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । र्यापीड टेष्टका लागि जिल्लामा १ सय थान किट आइपुगेको छ । जिल्लामा तीन जनालाई आइसोलेशनमा राखिएको छ भने ४४ जना क्वारेण्टाइनमा छन् ।
इन्सेक पश्चिम नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार लकडाउन लम्बिँदै गएपछि केही नागरिकहरू लकडाउनको बेवास्ता गर्दै बाहिर निस्किएका छन् । लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन गरिएको छ । जिल्ला सदरमुकाम परासीमा चैत ३० गते र वैशाख १ गते लकडाउन उल्लङ्घन गरेको आरोपमा १२ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताउनु भयो ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार सुनछहरी गाउँपालिकाको क्वारेण्टाइनमा राखिएका ३० जना व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । २९ गतेबाट सुरू गरिएको आरडिटी परीक्षण रोल्पा नपाको क्वारेण्टाइनमा राखिएका ३३ जना र सुनिल स्मृति गाउँपालिकाको क्वारेण्टाइनमा राखिएका दुई जनाको परीक्षण गरिएको थियो । उनीहरू कसैलाई पनि कोरोनाको सङ्क्रमण पुष्टी नभएको स्वास्थ्य कार्यलयका प्रमुख अनिल केसीले जानकारी दिनु भयो ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार बुटबलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा १० बेडको आइसियू निर्माण गरिएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको सहयोगमा आइसियू सहितको अस्पताल निर्माण गरिएको हो । आइसियू स्थापनाका लागि करीब २ करोड रुपियाँ बराबरको लगानी गरिएको छ । आठ थान आइसियूका बेड, चार थान भेण्टिलेटर, आठ थान मनिटर लगायतका उपकरणहरू गौतम बुद्ध मुटु अस्पतालले सहयोग गरेको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनु भयो ।
आइसियू नर्माणपछि अस्पतालको अनुगमन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले अस्पताल निर्माणमा सङ्घ संस्थाहरूले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताउनु भयो । आइसियू कक्षलाई अझ व्यवस्थित गर्नका लागि रुपन्देहीका विभिन्न सङ्घ संस्थाहरूले ३५ लाख रुपियाँ सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आवश्यक ३० ओटा अस्थायी शौचालय निर्माण गर्ने काम निर्माण व्यवसायी सङ्घ रुपन्देहीले गरेको छ ।
यसैगरी अस्पतालका लागि आवश्यक पर्ने थप रकम बुटवल उमनपा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र प्रदेश सरकारले उपलब्ध गराउने भएका छन् । जिल्लामा हालसम्म कोरोनाको सङ्क्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार–पाँच जना शङ्काष्पद बिरामीहरू आउने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनु भयो । यस अस्पतालमा पाल्पाका बावुराम थापाको आइसियू अभावका कारण उपचारको क्रममा मृत्यु भएपछि कोरोना विशेष अस्पतालमा आइसियू स्थापना गर्न दबाब परेको थियो । यसैगरी बुटवल उमनपाको अगुवाइमा बुटवल उपमनपा– १० रामनगर स्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा १ सय बेड क्षमताको छुट्टै आइसोलेशन अस्पताल सञ्चालनमा रहेको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार वैशाख १ गतेसम्म जिल्लामा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएका छैनन् । जिल्लाका १० ओटा स्थानीय तहमा १ हजार २ बेड क्षमताको क्वारेण्टाइन ५ सय ५६ जना व्यक्ति क्वारेण्टाइनमा रहेका छन् । हालसम्म ३ सय २४ जनालाई क्वारेण्टानबाट स्वास्थ्यकर्मीहरूको सिफारिसमा घर पठाइएको छ ।
क्वारेण्टाइनमा राखिएकामध्ये १ सय १५ जनाको आरडीटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो । लकडाउनलाई अनुसाशित बनाउन जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्वास्थ्यकर्मी, विभिन्न सङ्घ संस्था र सुरक्षाकर्मीहरू लगायतले सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा लकडाउनको पुर्ण कार्यान्वयन भएको छ । अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् भने अत्यावश्यक बाहेकका पसलहरू पनि बन्द छन् । लकडाउनको पुर्ण कार्यान्वयनका लागि प्रहरी प्रशासनले कडाई गरेको छ । रैनादेवी छहरा गाउँपालिकास्थित सिजी कम्पनीका मजदुर ४० वर्षीय भारतीय नागरिकलाई कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशनमा राखिएको छ । उनी डेढ महिनाअघि भारतबाट काम गर्न आएका र एक हप्तादेखि ज्वरो, रुघाखोकी देखिएकाले भर्ना गरी चैत ३० गते स्वाबको नमूना प्रादेशिक प्रयोगशालामा पठाइएको अस्पतालका निर्देशक डा. राजु शाक्यले बताउनु भयो ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेण्टाइनमा बसेका १८ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको छ । मदाने र गुल्मी दरवार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय गुल्मीले कोरोना परीक्षण छिटो र प्रभावकारी बनाउन स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर आरडीटी किट समेत उपलब्ध गराएको छ । किट सीमित भएकाले पहिलो चरणमा १४ दिन क्वारेण्टाइनमा बसेकाहरुको परीक्षण गर्ने र पर्याप्त किट उपलब्ध भए विदेशबाट फर्केकाहरूको पनि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।