कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको अवधिमा प्रस्तावित चरिकोट अस्पताल दोलखाबाट जिल्लाका विभिन्न स्थानका ४८ जनाले प्रसूति सेवा लिएका छन् ।
लकडाउन भएको १९ औं दिन चैत २९ गतेसम्मको अवधिमा अस्पतालमा ४८ जनाले सुरक्षित रुपमा सुत्केरी गराईएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यस अवधिमा भीमेश्वर नगरपालिकाका १४ जना, कालिञ्चोक गाउँँपालिकाका १४ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै गौरीशङ्कर गाउँँपालिका, तामाकोशी गाउँँपालिका र शैलुङ गाउँँपालिकाका चार/चार जना बैत्यश्वर गाउँँपालिकाका सात जना र विगु गाउँँपालिकाका एक जनाले प्रसूति सेवा लिएका छन् ।
अस्पतालले ओपीडी सेवा बन्द गरेपनि आकस्मिक सेवा भने २४ औ घण्टा खुल्ला राखेको छ । जसले गर्दा प्रसूति सेवामा कुनै पनि प्रभाव नपरेको अस्पतालले जनाएको छ । प्रसूति केन्द्रमा गई बच्चा जन्माउनेका लागि सरकारले यातायात खर्च उपलब्ध गराउने भएपछि अस्पालमा सुत्केरी हुनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यसैबीच महिला स्वास्थ्य स्वमयंसेविकाहरूलाई सरकारले कोरोना भाइरसको रोकथाम र उपचारमा परिचालन गर्ने भएसँगै दोलखाका महिला स्वास्थ्य स्वयंसेविकाहरू उत्साही भएका छन् ।
आफूहरू अहिले पनि कोरोना भाइरसको बारेमा सचेतना फैलाउनका लागि खटिएकाले सरकारको निर्णयले थप उत्साह पाएको भीमेश्वर नगरपालिका–४ की महिला स्वास्थ्य स्वयंसेविका दुर्गा देवी श्रेष्ठले बताउनु भयो । आवश्यक कार्यविधि नै बनाएर परिचालन गर्ने सरकारको निर्णय प्रति आफू उत्साही भएको विगु गाउँँपालिका–१ लामावगरकी महिला स्वास्थ्य स्वयंमसेविका आनन्दकुमारी श्रेष्ठले बताउनु भयो । कोरोनाको उपचार, रोकथाम, नियन्त्रणमा सङ्लग्न सबै चिकित्सक, स्वास्थ्यकर्मीलाई बीमा र अन्य अतिरिक्त सुविधा उपलब्ध गराउने निर्णय आफूहरूका लागि खुसीको कुरा भएको स्वयंमसेविकाहरूले बताएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय स्वागत योग्य भएको भन्दै दोलखाका महिला स्वास्थ्य स्वयंसेविकाहरू उत्साही भएका हुन् ।
कोरोनाको महामारीमा खटिने स्वंयमसेविकाहरूलाई मासिक भत्ता र बीमाको व्यवस्था गर्न सरकारले गर्नेछ । नेपालले हाल स्वास्थ्य क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरू महिला स्वास्थ्य स्वंयसेविकाहरूकै कारणले भएको स्वास्थ्य मन्त्रालयको ठहर गरेको छ । मुख्य गरी बाल मृत्युदर र मातृ मृत्युदर घटाउन स्वंयसेविकाको उल्लेखनीय भूमिका खेल्दै आएको महिला स्वास्थ्य स्वंयसेविकाहरूका सरकारले नै कोरोना भाइरसको रोकथाम र उपचारमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको हो ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा १ सय १५ जना, जिरी नगरपालिकामा १ सय २ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् भने जिल्लाको विगु गाउँँपालिकामा १ सय ३० जना, मेलुङमा १ सय ६५ जना, शैलुङमा १सय ५१ जना, बैतेश्वरमा १ सय ५१ जना, कालिञ्चोकमा १ सय ६५ जना, तामाकोशीमा १ सय ४० जना र गौरीशंकर गाउँँपालिकामा १ सय १२ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।