कोरोना भाइरस (कोभिड– १९) को रोकथामका लागि प्रदेश १,सरकारले सुरूआत गरेको र्यापिड डाइनोष्टिक टेस्ट चैत २९ गतेदेखि पाँचथरमा सुरू भएको छ ।
प्राविधिक टोली आईपुगेपछि चैत २९ गतेदेखि इलाम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सीमानामा अवस्थित राँकेबजारबाट टेस्ट सुरू भएको हो ।
पहिलो दिन विदेशबाट आएका सात जना र स्थानीय एक जना गरी आठ जनाको परीक्षण गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताउनु भयो ।
यो अभियान जिल्लाका अन्य स्थानीय तहमा समेत क्रमशः बढाइने जिल्ला समन्व समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले बताउनुभयो । विदेशबाट चैत १ गतेयता जिल्लामा आएकाहरूको र्यापिड टेस्टमार्फत कोरोना सङ्क्रमणको परीक्षण भएको हो ।
विराटनगरबाट तीन जना र जिल्लामा एक गरी चार जना प्राविधिक समूहले परीक्षणको काम गरेको छ । प्राविधिक समूहले क्वारेन्टाइनमा पुगेर परीक्षण थालेको छ । २० मिनेटमा नजिता देखाउने २ सय ओटा किट लिएर आएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा आठओटै स्थानीय तहले २ सय ४ ओटा क्वारेन्टाइन स्थापना गरेका छन् । अहिले जिल्लामा क्वारेन्टाइनमा ६० जना विदेशबाट आएकाहरू छन् । थप आठ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।